
वीरगञ्ज । नयाँ शैक्षिकसत्र सुरू भएसँगै सखुवाप्रसौनी गाउँपालिकाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न महत्वपूर्ण कदम चालेको छ । गाउँपालिका शिक्षा समितिले पालिकाभित्रका विभिन्न विद्यालयमा कार्यरत करिब २५ जना शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरेको छ ।
गाउँपालिकाले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त निर्णय गरिएको जनाएको छ । शिक्षा शाखाका अनुसार विद्यालयको आवश्यकता, शिक्षकको शैक्षिक योग्यता तथा अनुभवका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो ।
लामो समयदेखि एउटै विद्यालयमा कार्यरत केही शिक्षकलाई नयाँ विद्यालयमा पठाइएको छ भने योग्यताका आधारमा केही शिक्षकलाई उच्च तहमा अध्यापन गराउने अवसर प्रदान गरिएको छ । विशेषगरी प्राथमिक तहमा कार्यरत भए पनि माध्यमिक तहसम्म अध्यापन गर्न सक्ने क्षमता भएका शिक्षकलाई माथिल्लो तहमा व्यवस्थापन गरिएको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखा प्रमुखका अनुसार यस व्यवस्थापनले शिक्षकको क्षमता उपयोग प्रभावकारी हुने तथा विद्यार्थीले दक्ष शिक्षकबाट गुणस्तरीय शिक्षा पाउने अपेक्षा गरिएको छ । साथै, केही विद्यालयमा स्थायी शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारीसमेत दिइएको छ ।
स्थानीय अभिभावकहरूले लामो समयदेखि एउटै विद्यालयमा एउटै शिक्षक रहँदा शैक्षिक वातावरणमा नवीनता नआएको तथा शिक्षाको गुणस्तरमा असर परेको गुनासो गर्दै आएका थिए । सोही गुनासोलाई सम्बोधन गर्दै विद्यालयमा नयाँ ऊर्जा र सुधार ल्याउने उद्देश्यले सरुवा तथा दरबन्दी मिलान गरिएको गाउँपालिकाले जनाएको छ ।
सखुवाप्रसौनी गाउँपालिकामा छ वटा वडा रहेका छन् । पालिकाभित्र हाल २९ वटा विद्यालय सञ्चालनमा छन्, जसमा पाँच वटा माध्यमिक, चार वटा निम्न माध्यमिक र २० वटा प्राथमिक विद्यालय रहेका छन् ।
गाउँपालिका अध्यक्ष यशवन्त यादवले गुणस्तरीय शिक्षा प्रदान गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताउँदै शैक्षिक सुधारका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि शिक्षा क्षेत्रमा निरन्तर सुधार आवश्यक रहेको धारणा व्यक्त गरे ।
नयाँ सरुवा तथा दरबन्दी मिलानलाई शैक्षिक सुधारतर्फको सकारात्मक कदमका रूपमा हेरिएको छ । यसबाट आगामी दिनमा विद्यालयहरूको शिक्षण वातावरण तथा शैक्षिक उपलब्धिमा सुधार आउने अपेक्षा गरिएको छ ।

