
पर्सामा रहेका तीन वटा नगरपालिकामा बर्सेनि बेरुजु बढ्दै गएको छ। जिल्लामा रहेका १४ स्थानीय तहमध्ये तीन वटा नगरपालिका, पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकामा प्रत्येक वर्ष पाँचदेखि ८ करोडसम्मको बेरुजु हुने गरेको छ।

महालेखा परीक्षकले गरेको ०७७/७८ को लेखापरीक्षणअनुसार यी तीन वटै नगरपालिकामा कुल ८० करोड ३७ लाख ३६ हजार बेरुजु छ।
जसमा सबैभन्दा बढी पोखरिया नगरपालिकाको ३१ करोड ७८ लाख ९८ हजार, पर्सागढीको २६ करोड १२ लाख ४ हजार र बहुदरमाई नगरपालिकाको २२ करोड ४६ लाख ३४ हजार रहेको महालेखाले जनाएको छ।
०७४ सालदेखि नगरपालिका भएका यी स्थानीय तहमा २०७९ सालसम्म चार आर्थिक वर्षमा यति बेरुजु रकम देखिएको हो। यस तथ्यांकअनुसार पोखरियामा एक वर्षमा सात करोड ९४ लाखभन्दा बढी, बहुदरमाईमा ६ करोड ५३ लाख र पर्सागढी नगरपालिकामा एक वर्षमा ५ करोड ५१ लाखभन्दा बढी बेरुजु हुने गरेको देखिन्छ।
यी तीन वटै नगरपालिकामा भएका बेरुजु रकममध्ये पोखरिया नगरपालिकामा ०७७/७८ सम्म कल बेरुजुमध्ये असुल गर्नुपर्ने ७० लाख ६४ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ४ करोड ७८ लाख ६५ हजार, नियमित गर्नुपर्ने ८८ लाख १५ हजार र पेश्की ५८ लाख ११ हजार छ।
आफू निर्वाचित भएर आएसँगै अब बेरुजु रकम घटाउने र नियमसम्मत भुक्तानी गर्ने प्रक्रिया मिलाइने नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले बताए।
उनले आफूहरू नयाँ नै अहिले भएकाले पहिलेका अनियमितता विस्तारै कम गर्नेतर्फ आफ्नो ध्यान रहने आश्वासन दिए। यसैगरी बहुदरमाई नगरपालिकाको कुल बेरुजुमध्ये असुल गर्नुपर्ने एक करोड ५३ लाख २ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३ करोड १५ लाख २ हजार, नियमित गर्नुपर्ने ५६ लाख ३३ हजार र पेस्की ८९ लाख ९६ हजार छ।
नगरपालिकाका प्रमुख सिंगासन साहले अबदेखि बिना प्रमाण कागजात वा काम पूरा नभएको खण्डमा कुनै पनि भुक्तानी नगरपालिकाबाट हुन नदिने जिकिर गरे।
उनले बेरुजुबारे अध्ययन गर्नका लागि लेखाबाट फाइल मगाएर अध्ययन गर्ने कार्य गरिरहेको भन्दै बेरुजु अब घट्ने विश्वास व्यक्त गरे। पर्सागढी नगरपालिकाको कुल बेरुजु रकममध्ये असुल गर्नुपर्ने रकम ९४ लाख ४३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने एक करोड ४७ लाख ३९ हजार, नियमित गर्नुपर्ने ३१ लाख ८४ हजार र पेस्की २६ लाख ४४ हजार रहेको महालेखा वार्षिक प्रतिवेदन २०७९ मा जनाएको छ।

