

वीरगंज । राष्ट्रियसभाका सांसदहरूले महामारीको रूपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। बुधबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारूढ नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे।
उनले मिटरब्याजीहरूबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्तिसमेत जनाए। सांसद दाहालले भने, ‘मिटरब्याजीहरूले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रूपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ। तर ती न्याय माग्न गएकाहरूलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ। यस्तो काम अविलम्ब रोकियोस् भनेर म माग गर्न चाहन्छु। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ नेकपा माओवादी केन्द्रका सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए।

