Aadarsh-Daily

श्रमिकको नाममा राजनीति गर्नेहरू अवसरवादी मात्र हुन्, श्रमिकको साँचो आवाज एमाले हो : प्रदीप यादव

ad-4p

वीरगन्ज, २३ माघ — पर्सा क्षेत्र नम्बर–१ का नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले श्रमिक (मजदुर) वर्गको पक्षमा निरन्तर आवाज उठाउने एकमात्र राजनीतिक पार्टी नेकपा एमाले मात्रै भएको दाबी गरेका छन्।

content ad p2

परवानीपुरमा शुक्रबार नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशद्वारा आयोजित श्रमिक भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले भने, “श्रमिकको पक्षमा सदैव आवाज उठाउने पार्टी एमाले हो। बाँकी सबै अवसरवादी हुन्।”

श्रमिक वर्गको बलिदान, पसिना र संघर्षकै आधारमा देशको अर्थतन्त्र चलेको उल्लेख गर्दै उनले श्रमिकको अधिकार सुरक्षित नगरी समृद्ध नेपाल निर्माण सम्भव नहुने स्पष्ट पारे। पूर्वमन्त्रीसमेत रहेका यादवले आगामी निर्वाचनमा जित सुनिश्चित गर्न श्रमिक वर्गको भूमिका अत्यन्तै निर्णायक हुने बताउँदै भने, “श्रमिक जागेन भने परिवर्तन सम्भव हुँदैन। श्रमिक संगठित भयो भने गलत राजनीति टिक्न सक्दैन।”

content left

उनले श्रमिकलाई केवल भोट बैंकको रूपमा प्रयोग गर्ने प्रवृत्तिको आलोचना गर्दै एमालेले श्रमिकलाई सधैं नीति निर्माणको केन्द्रमा राख्दै आएको दाबी गरे। आफू संसदमा रहँदा श्रमिकका मुद्दा निरन्तर उठाउँदै आएको स्मरण गराउँदै यादवले न्यूनतम ज्याला, सुरक्षित कार्यस्थल, सामाजिक सुरक्षा, श्रम ऐनको प्रभावकारी कार्यान्वयनजस्ता विषयमा एमालेको स्पष्ट धारणा रहेको बताए।
“संसदमा श्रमिकका आवाज दबिन नदिने काम मैले निरन्तर गरेको छु,” उनले भने।

एमाले केवल भाषणमा सीमित नभई व्यवहारमै श्रमिक अभियानलाई अघि बढाउँदै आएको जिकिर गर्दै यादवले भने, “श्रमिकका छोराछोरीको शिक्षा, स्वास्थ्य र रोजगारी हाम्रो प्राथमिकता हो।”

विशेषगरी बारा–पर्सा औद्योगिक करिडोरमा देखिएका श्रमिक समस्याप्रति गम्भीरता व्यक्त गर्दै उनले उद्योगमा हुने श्रमिक शोषण, असुरक्षित कार्यस्थल, समयमै तलब नपाउने अवस्था, सामाजिक सुरक्षा कोषमा देखिने अनियमितताजस्ता विषयलाई प्राथमिकतामा राखेर समाधान खोज्ने प्रतिबद्धता जनाए। उद्योगी र श्रमिकबीच सन्तुलन कायम गर्दै दुवै पक्षलाई फाइदा हुने नीति एमालेले अघि सारेको उनको भनाइ थियो।

कार्यक्रममा सहभागी श्रमिकहरूले आ–आफ्ना समस्या खुलस्त रूपमा राख्दै एमाले नेतृत्वबाट ठोस समाधानको अपेक्षा व्यक्त गरेका थिए। भेलाले आगामी निर्वाचनमा श्रमिक वर्ग एकजुट भएर नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई विजयी गराउने संकल्पसमेत गरेको आयोजकले जनाएको छ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेश पर्साका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, पर्सा अध्यक्ष विश्वम्भर शर्मा, जिल्ला सदस्य सुन्दर कुर्मी, ट्रेड युनियनका प्रदेश उपाध्यक्ष अमर यादवलगायतले मन्तव्य राखेका थिए।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily