Aadarsh-Daily

घर–घरमा पुग्दै भरोसा जगाउँदै प्रदीप यादव : पर्सा–१ मा एमालेको चुनावी अभियान तीव्र

ad-4p

वीरगञ्ज, ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रदीप यादव नेतृत्वको चुनावी अभियान जनस्तरसम्म पुग्दै थप सशक्त बनेको छ।

content ad p2

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका यादवले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रमअन्तर्गत यादवले घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। उनले आफ्ना विगतका कार्यकाल, जनसेवामा देखाएको निरन्तरता तथा विकासका प्रयासहरूको निष्पक्ष मूल्याङ्कन गर्न आग्रह गर्दै सही नेतृत्व चयन गर्न मतदातासँग अपिल गरे।

घरदैलोका क्रममा यादवले जनताको सुख–दुःखमा सधैँ साथ दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भने,
“निर्वाचन केवल जित–हारको विषय होइन, यो देश र भविष्यको निर्णय हो।”
पूर्वमन्त्रीसमेत रहेका यादवले जनताको एक–एक मतले देशको दिशा तय हुने भएकाले विवेकपूर्ण निर्णय लिन मतदातालाई आग्रह गरे।

content left

आफ्नो दुई कार्यकालको अनुभव स्मरण गर्दै उनले पर्सा–१ मा पूर्वाधार विकास, जनसेवा तथा सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्न अनुरोध गरे। चुनावका बेला मात्र देखिने ‘मौसमी नेता’ हरूप्रति सचेत रहन आग्रह गर्दै उनले स्थायी रूपमा जनतासँग जोडिएको नेतृत्व रोज्नुपर्नेमा जोड दिए।

यादवले मुलुक गम्भीर राजनीतिक तथा आर्थिक चुनौतीमा रहेको उल्लेख गर्दै नाटक र स्टन्टबाट देश नचल्ने स्पष्ट पारे।
“चुनावका बेला जे पनि बोल्नेहरू भोटपछि हराउँछन्, तर एमाले परिणाम दिन्छ,” उनले भने।

विकास र समृद्धिको ठोस खाका प्रस्तुत गर्दै यादवले स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय पूर्वाधार क्षेत्रमा आफूले पुर्‍याएको योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले आफ्नो अभियान जनताको आवश्यकता र दीर्घकालीन विकासमा केन्द्रित रहेको बताए।

कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उनीहरूले पनि स्थानीय मतदातासँग संवाद गर्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।

घरदैलोका क्रममा स्थानीयवासीहरूले यादवले विगतमा गरेको कामको प्रशंसा गर्दै आगामी निर्वाचनमा समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित खबर

बिन्दवासिनीमा एमाले उम्मेदवार रुपेश कुमार पाण्डेयको सशक्त घरदैलो अभियान

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily