
वीरगञ्ज, १३ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मंगलबार वीरगञ्ज महानगरपालिका–६ माइस्थान तथा वडा नम्बर ९ घण्टाघर–पानमन्डी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।

वीरगञ्ज महानगरपालिका का विभिन्न टोलमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाए। उनले मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्न आग्रह गरे।
चार दशकदेखि चल्दै आएको राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको उल्लेख गर्दै कानुले समृद्ध नेपाल निर्माणका लागि नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताए। “पर्सा देशकै महत्त्वपूर्ण जिल्ला हो, तर यहाँबाट निर्वाचित सांसद र मन्त्रीहरूको बेवास्ताका कारण जिल्लाको विकास अपेक्षाकृत हुन सकेन,” उनले भने, “व्यापार–व्यवसाय, पूर्वाधार र सडकको अवस्था जीर्ण छ। अब प्राथमिकताका साथ सुधार गर्नुपर्छ।”
निर्वाचित भएमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनको भनाइ थियो। उनले पर्साको औद्योगिक सम्भावनालाई मध्यनजर गर्दै ठूला विकास आयोजना अघि सार्ने दाबी गरे।

