
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट **नेकपा एमाले**का उम्मेदवार **प्रदीप यादव**ले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियानका क्रममा स्थानीय मतदाताहरूले उत्साहपूर्वक एमाले र सूर्य चिन्हमा मतदान गर्दै पूर्वमन्त्रीसमेत रहेका यादवलाई पुनः विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवार यादवले वीरगंज महानगरपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेट गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। घरदैलो अभियानकै क्रममा जगरनाथपुर पुगेका यादवलाई स्थानीयवासीहरूले भव्य स्वागत गरेका थिए। स्थानीयको व्यापक सहभागितामा सम्पन्न स्वागत कार्यक्रमले पर्सा–१ मा एमालेप्रतिको जनसमर्थन अझै मजबुत बन्दै गएको संकेत गरेको छ।
स्थानीय विकासमा यादवले पुर्याएको योगदान स्मरण गर्दै मतदाताहरूले उहाँप्रति दृढ विश्वास व्यक्त गरेका छन्। पर्साबाट दुई पटक सांसद र मन्त्री रहिसकेका यादवले विपत्का बेला जनतासँगै उभिएर काम गरेको, खानेपानी संकटको समयमा डिप बोरिङ जडान, सडक निर्माण, कोरोना महामारीमा अग्रपंक्तिमा रहेर सहयोग, तथा विवाह भवन निर्माणजस्ता कामहरू आज पनि उदाहरणीय रूपमा स्मरण गरिन्छ।

वीरगंज–१३ का एक स्थानीयले जिल्लाको समग्र विकासमा निरन्तर योगदान पुर्याएका इमानदार, कर्मठ र विकासप्रेमी नेता यादवलाई पुनः जिताएर पठाउने बताए। “विकासका काम देखिने गरी गर्ने नेता र पार्टी भनेकै एमाले हो,” उनले भने।
घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि र रोजगारीका क्षेत्रमा आफ्ना स्पष्ट योजना प्रस्तुत गरेका छन्। एमाले नेतृत्वको सरकारले देशभर ठूला पूर्वाधार निर्माण, सडक सञ्जाल विस्तार, शिक्षा तथा स्वास्थ्य संस्थाको विकास, र राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको संरक्षणमा योगदान दिएको उल्लेख गर्दै उनले पर्सालाई पनि समृद्धिको केन्द्र बनाउने प्रतिबद्धता जनाए।
यादवले पछिल्लो समय मुलुकले भोगेको अस्थिरता र विकास अवरोधपछि अब दृढ नेतृत्वसहित राष्ट्र निर्माणको नयाँ चरण आवश्यक रहेको बताए। “अब नारा होइन, परिणाम चाहिएको छ। एमालेले मात्र स्थायित्व, विकास र राष्ट्रिय हितको रक्षा गर्न सक्छ,” उनले भने।
स्थानीय जनउत्साह, विगतका ठोस उपलब्धि, एमालेको विकासवादी नीति र राष्ट्रियताप्रतिको स्पष्ट अडानका कारण पर्सा–१ मा एमालेको जित सुनिश्चित देखिएको स्थानीयवासीहरूको विश्वास छ।

