
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर अशोकवाटिका तथा घडिअर्वा पोखरी क्षेत्रमा उनले घरदैलो अभियान सञ्चालन गरे । उक्त क्षेत्रका स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष समेत रहेका कानुले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे ।
घरदैलोका क्रममा उनले वीरगञ्जलाई कुशासनमुक्त बनाई व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक अभ्यासले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ । पर्सा देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक जिल्ला हो, तर निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण विकास पछाडि परेको छ ।”

उनले क्षेत्रको सडक, पूर्वाधार, व्यापार–व्यवसायको अवस्था जीर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएपछि सङ्घीय, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने बताए । विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठुला विकास आयोजना सञ्चालन गर्ने उनको दाबी छ ।
कानुले मतदातालाई यस पटक पनि रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरेर परिवर्तनको पक्षमा उभिन आग्रह गरे । “पछिल्लो पटक माया गर्नुभयो, यस पटक पनि घण्टीमा मत दिएर नयाँ युग सुरु गरौँ,” उनले भने ।
स्थानीय स्तरमा राम्रो जनसम्पर्क र वडाध्यक्षकालमा खानेपानी समस्या समाधानजस्ता कामका लागि चर्चित कानुले घरदैलो अभियानमार्फत युवा तथा व्यवसायीहरूको समर्थन बढाउँदै लगेका छन् । पर्सा–२ मा रास्वपाको ‘घण्टी’ प्रति बढ्दो आकर्षण देखिएको छ ।
अभियानले क्षेत्रका समस्या र विकासका मुद्दालाई मतदातासमक्ष पुर्याउने तथा नयाँ राजनीतिक विकल्पको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

