Aadarsh-Daily

अर्धवार्षिक परीक्षासम्म एक पाठ पनि पढाई नभएको विद्यार्थीको गुनासो

ad-4p

वीरगञ्ज, ९ पुष ।  पर्साको बहुदरमाई नगरपालिकास्थित श्री नेपाल राष्ट्रिय मावि डोकैला बहुअरीका विद्यार्थीहरुको अर्धवार्षिक परीक्षा शुक्रवार (पुष ८ गते) सम्पन्न भयो । मंसिर २९ गतेदेखि शुरु भएको अर्धवार्षिक परीक्षा अन्र्तगत पुष ६ गते जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा थियो । त्यसदिनको परीक्षामा अधिकांश विद्यार्थीहरुले यो विषयको पढाइ भएको छैन भनेर लेखेको उत्तरपुस्तिका बाहिरिएपछि यसमा सबैको ध्यान केन्द्रित भएको हो ।

content ad p2

सोही विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा प्रियंका कुमारी यादवले लेखेकी छिन्, ‘हाम्रो जनसंखया विषयमा एउटा पाठ पनि पढाई भएको छैन, परीक्षामा के लेख्ने ?’ अर्की छात्रा पुनिता कुमारी यादवले पनि पढाई नभएको बताइन् । उनले लेखेकी छिन्, ‘पढाइ भएको छैन ।’ यी दुई जना मात्रै हैन, सुरज कुमार गुप्ता, सुबास कुमार यादव, मुना महतो नुनिया, उमाकान्त प्रसाद साह, राजन कुमार साह, प्रकाश यादव, पूजा कुमारी पटेल लगायतले प्रश्नको जवाफको ठाउँमा पढाई भएको छैन भनेर लेखेका छन् ।

content left

अहिलेसम्म एक पाठ पनि पढाइ नभएको र उक्त विषयको शिक्षक नै नभएको बताउँछन् कक्षा १० का छात्र सुरज कुमार गुप्ता । पटक पटक शिक्षकको माग गर्दा पनि कसैले नसुनेको हुँदा अहिले परीक्षामा पढाई भएको छैन भनेर लेख्नुपर्ने बाध्यता आएको छात्रा पूजा पटेलले बताइन् । स्वास्थ्य तथा जनसंख्या विषयको शिक्षक छैनन् भने ऐच्छिक स्वास्थ्य पढाउने शिक्षक अधिकांश समय अनुपस्थित हुने गरेको गुनासो पनि विद्यार्थीहरुले गरेका छन् । शैक्षिक सत्रको अन्तिम समयसम्म आउँदा पनि एक पाठ पढाई नहुँदा अन्तिम परीक्षामा के लेख्ने भन्नेमा विद्यार्थीहरु चिन्तित छन् ।
यता विद्यालयका प्रधानाध्यापक अजय कुमार यादव भने एक पाठ पनि पढाइ नभएको भन्ने कुरा गलत भएको दावी गर्छन् । उनले भने, ‘कक्षा १० मा २ सय २३ जना विद्यार्थी छन्, सबैले उत्तर लेखेका छन् । तर केहीले कसैको प्रभावमा परेर राजनीतिकरण गर्नका लागि पढाइ भएको छैन भनेर लेखेका छन् ।’ उनले थपे, ‘स्वास्थ्य तथा जनसंख्या पढाउने सरको सरुवा भएपछि विषयगत शिक्षक नभएपनि देवकी केसी म्याडमले पढाउनुहुन्थ्यो, त्यतिबेला कसैले केही भनेनन्, अहिले परीक्षाको बेला उहाँले पढाएको बुझिएन भन्नु पक्कै पनि कसैले चलेको चाल हुनुपर्छ ।’

प्रधानाध्यापक यादवका अनुसार यसअघि जनसंख्या विषय पढाउने शिक्षक लगभग पुस्तकको करिब ८५ प्रतिशत पाठ्यक्रम सकाएर सरुवा भएका हुन् । त्यसपछि एक जना म्याडमले निरन्तर कक्षा लिइरहेको हुँदा एक पाठ पनि पढाइ भएको छैन भन्नु गलत हुने प्रधानाध्यापक यादवको बुझाई छ ।

यद्यपी उक्त विषयको विषयगत शिक्षकको अभाव भने खट्किरहेको उनले बताए । वडा र पालिकाले स्वयमसेवक शिक्षकको व्यवस्था गर्ने शर्तमा यसअघि जनसंख्या विषय अध्यापन गराउने शिक्षकको सरुवा भएपनि पालिका र वडाले व्यवस्था नगरेको आरोप उनको छ ।

सम्बन्धित खबर

पर्सा–१ मा कडा प्रतिस्पर्धाः एमालेका प्रदीप यादव अगाडि, कांग्रेस र रास्वपा ग्राफ घट्दै

Aadarsh Daily

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily