
आज शनिवारदेखि राष्ट्रिय परिचयपत्र नम्बर रहेका सेवाग्राहीले अनलाइनमार्फत् मतदाता नामावली दर्ताका लागि आवेदन दिन सक्ने भएका छन्।
तर राष्ट्रिय परिचयपत्र नम्बर नभएकाले भने आज आवेदन दिन नपाउने निर्वाचन आयोगले स्पष्ट गरेको छ।
आयोगका अनुसार पहिले नै अनलाइन फारम भरेर आवेदन दर्ता गरिसकेकाहरूले भने सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण (biometric) दिने काम आज पनि जारी रहनेछ।

यसका लागि सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई सेवा पूर्ववत सञ्चालन गर्न निर्देशन दिइएको छ।
राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा सिधै अनलाइन दर्ता गर्न अनुमति दिएपछि अस्तिदेखि आवेदनको चाप निकै बढेको आयोगले जनाएको छ। यही चाप व्यवस्थापन गर्न आयोगले मतदाता नामावली दर्ताको अवधि मंसिर ५ गतेसम्म पाँच दिन थप गरेको छ।
आयोगका अनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिकमा देखिएको उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै नागरिकलाई अझ सहज बनाउन म्याद थपिएको हो।
प्रधानमन्त्री सुशीला कार्कीले पनि हिजो आयोगलाई समय थप्न आग्रह गरेकी थिइन्।
पछिल्लो विवरणअनुसार अहिलेसम्म २ लाख ५७ हजार ५ सयभन्दा धेरै नयाँ मतदाताले नाम दर्ता गराइसकेका छन्।

