
वीरगञ्ज, २२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिकीसँग जोडिएका समस्या, आवश्यकता र अपेक्षाहरू सुने । उनले आफू चुनावमा केवल मत माग्न नभई जनताको वास्तविक आवाज संसद्सम्म पुर्याउने उद्देश्यसहित उम्मेदवार बनेको स्पष्ट पारे ।
मतदातासँगको संवादमा कानुले सुशासन, पारदर्शिता र जबाफदेहिता कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार ल्याउने, तथा युवालाई उद्यमशीलतामा प्रोत्साहन गर्ने रास्वपाका प्रमुख चुनावी एजेन्डाहरू प्रस्तुत गरे ।

“देशमा दीर्घकालीन परिवर्तनका लागि इमानदार नेतृत्व र काम गर्ने राजनीतिक संस्कार आवश्यक छ, र त्यो जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको छ,” उनले भने ।
कानुले स्थानीय विकासका सन्दर्भमा खानेपानी, सडक, सरसफाइ तथा आधारभूत पूर्वाधारको दिगो विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले जनताको करको सदुपयोग हुने गरी नीति निर्माण र कार्यान्वयनमा आफू दृढतापूर्वक लाग्ने बताए ।
घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले कानुलाई फूलमाला लगाएर स्वागत तथा सम्मान गरेका थिए । सो अवसरमा उनीहरूले आगामी निर्वाचनमा कानुलाई विजयी गराउने आश्वासन दिँदै परिवर्तनका लागि रास्वपालाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा निर्वाचन क्षेत्रका अन्य वडाहरूमा पनि यस्ता जनसम्पर्क तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिइने उम्मेदवार कानुले जानकारी दिए ।

