
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की नेकपा एमाले उम्मेदवार रिमा कुमारी यादव ले शनिबार बिहान वीरगंज महानगरपालिका–२५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलो अभियानअन्तर्गत उम्मेदवार यादव श्रीसिया, खालवा टोला श्रीसिया तथा मौसे श्रीसिया टोलमा पुग्दा स्थानीय बासिन्दाले फूलमाला लगाएर भव्य स्वागत गरेका थिए। भेटघाटका क्रममा उनले स्थानीय नागरिकका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्दै समाधानका लागि सक्रिय पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
यादवले विशेषगरी सीमावर्ती क्षेत्रका नागरिकले भोग्दै आएका सुरक्षा, स्वास्थ्य, शिक्षा, रोजगारी, सडक तथा खानेपानीसम्बन्धी समस्यालाई प्राथमिकतामा राखेर संसदमा सशक्त आवाज उठाउने बताइन्।
“सीमावर्ती गाउँका जनता अझै पनि आधारभूत सेवा र अवसरबाट वञ्चित छन्, म उनीहरूको हकअधिकारका लागि दृढ रूपमा उभिनेछु,” उनले भनिन्।
उनले विगतमा निर्वाचित नेताहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै अब भाषणभन्दा काम गर्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिइन्। नयाँ पुस्ताका युवाहरू राजनीतिमा आइसकेकाले विकास र सुशासनमा ठोस परिणाम देखाउने समय आएको उनको भनाइ थियो।

