
वीरगञ्ज १५ साउन । शनिबार अपरान्ह परेको भारी वर्षाले वीरगञ्ज जलमग्न बन्यो । वीरगञ्जको श्रीपुर, घण्टाघर, माइस्थान, आदर्शनगर लगायत मुख्य बजारक्षेत्रका साथै अन्य स्थान पनि जलमग्न भयो । पानी टंकी, रानीघाट, श्रीपुर क्षेत्रका सडकमा सवारी साधन हिँड्नै मुस्किल हुने गरी पानी जम्यो ।
भएका नालाबाट पानी सहज निकास हुन नसक्दा वर्षाका बेला हरेक वर्ष वीरगञ्जमा यो समस्या दोहोरिरहेको छ । शनिबार वीरगञ्जमा यस वर्षकै बढी पानी परेको थियो । हल्का पानी पर्दा त विगतमा डुबान हुने गरेकोमा भारी वर्षा पछि डुबान नहुने कुरै थिएन ।
अव्यवस्थित शहरीकरण, अवैज्ञानीक रुपमा निर्माण गरिएका सडक, नाला तथा संरचनाले गर्दा नगरवासीले डुबानको समस्या झेलिरहनु परेको छ । यतिमात्रै नभई जथाभावी फालिएका प्लाष्टिकका झोला तथा फोहोरका कारण पनि भएका नाला जाम हुँदा पानी निकास हुन नसक्दा डुबानको समस्या देखिएको छ ।
बाहिर झमझम पानी परिरहँदा महानगरका सफाई कर्मचारी भने वीरगञ्ज डुबान हुन नदिन विभिन्न ठाउँमा पुगेर नालामा अड्कीएका प्लाष्टिक तथा फोहोर निकाल्न खटिएको देखिएको थिए ।
जथाभावि फालिएका प्लाष्टिक र फोहोर नालामा अड्कीँदा पानी निकास बन्द भई नगर क्षेत्र जलमग्न हुन पुगेको महानगर सरसफाई शाखा प्रमुख सर्फुदिन मियाँ बताउँछन् ।
कार्यक्रमका लागि पोखरा भएका मेयर राजेशमान सिंहले नगरवासीले डुबानको समस्या भोग्न नपरोस भनेर निर्देशन भएकाले आफूहरु पानीमा भिज्दै भए पनि नाला सफाइमा जुटेको उनको भनाई थियो ।

महानगरपालिकाले यस वर्ष वर्षौँदेखि सफाई नभएका मुख्य नालाहरुको पनि सफाई गरेको थियो । वर्षायाममा डुबानबाट बचाउन नाला सफाईलाई प्राथमिकता दिएर काम गरिरहेको महानगरले २० प्रतिशत मात्रै सफाई भ्याएको थियो ।
वर्षातको समयमा जथाभावी फालिएका प्लाष्टिक र फोहोर नालामा गएर अड्किने हुँदा पानी निकास हुन नसकी डुबान भएको भन्दै जथाभावी फोहोर नफाल्न महानगरले आग्रह गरेको छ ।
यस्तै प्लाष्टिक तथा प्लाष्टिक जन्य सामान निश्चित स्थानमा मात्रै राख्न र जथाभावी नफालि सहयोग गर्न महानगरले आग्रह गरेको हो । फोहोर व्यवस्थापन र नाला सफाईमा नगरवासीकै दरिलो साथ चाहिने मेयर राजेशमान सिंह बताउँछन् ।
शनिबार पनि मेयरकै निर्देशनमा सफाई कर्मचारी डोजर लिएर विभिन्न स्थानमा जाम भएका नाला सफाई गर्दै हिँडेका थिए ।

