
मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा सबैभन्दा धेरै एचआईभी/एड्स संक्रमित फेला परेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मधेसमा हालसम्म ४ हजार ३३२ जना संक्रमितमध्ये पर्सामै १ हजार ८९६ जना छन्।

मधेसका जिल्लाहरूमा मात्रै ४७४ जना नयाँ संक्रमित पहिचान भएका छन । नयाँ संक्रमितमध्ये १६ जना गर्भवती महिलासहित वैदेशिक रोजगारीबाट फर्किएका पुरुष, महिला, तेस्रो लिंगी तथा यौनकर्मीको संख्या उल्लेख्य छ ।
पर्सापछि धनुषामा ८२२, सर्लाहीमा ५२०, सिरहामा ४२६, रौतहटमा ३९०, महोत्तरीमा ३६४, बारामा २३८ र सप्तरीमा १८१ संक्रमित फेला परेका छन् ।
संक्रमितहरूलाई दातृ निकायको सहयोगमा सरकारले मधेस प्रदेशका ११ एआरटी केन्द्रमार्फत निःशुल्क औषधि वितरण गरिरहेको छ ।

