
पर्साको वीरगन्ज महानगरपालिकाका दुईजना वडाध्यक्ष फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका छन् । वीरगन्ज महानगरपालिका– १० का वडाध्यक्ष सुशील साह कानु र वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह पराग प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दर्ता गराउँदै छन् । वडाध्यक्ष कानुले पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दर्ता गराउँदै छन् भने वडाध्यक्ष परागले उज्यालो नेपाल पार्टीबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराउने भएका छन् ।

वडाध्यक्ष कानु गत ०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । ०७४ सालमा वीरगन्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा मनोनीत भएका थिए । परागले भने नेकपा एमालेका तर्फबाट दोस्रो प्रयासमा वडा नम्बर २० का वडाध्यक्ष जितेका थिए । वडाध्यक्ष कानु उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरमबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।
उनी जनता समाजवादी पार्टी नेपालबाट ०७० सालमा नगरकाे उपाध्यक्ष हुँदै ०७१ मा जसपाकै युवा संगठनको केन्द्रीय सदस्यसमेत भएका थिए । त्यस्तै, वडा नम्बर २० का परागले नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरुवात गरेका हुन् । ०६२/६३ को जनआन्दोलनदेखि विद्यार्थी राजनीतिक नेतृत्व गर्दै आएका थिए । उनी ०७४ सालको स्थानीय निर्वाचनमा एक मतले पराजित भएका थिए । उनी यसअघि एमाले वीरगन्ज महानगरपालिका कमिटीकाे उपाध्यक्ष थिए ।

