
पर्सा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसले चुनावी तयारीलाई तीव्र बनाउँदै शक्ति प्रदर्शन गरेको छ। कांग्रेसका उम्मेदवार अनिल रुङटाको जित सुनिश्चित गर्न भातृ र शुभेच्छुक संगठनहरूको सहभागितामा रणनीतिक बैठक आयोजित गरिएको हो।
बैठकमा पूर्व सभापति अजय दिवेदीले अनिल रुङटालाई जनतासँग घनिष्ठ सम्बन्ध राख्ने, विकासमुखी सोच बोकेको र स्वच्छ छविका नेता भएको बताए। उनले आगामी निर्वाचनमा पर्सा–१ का लागि रुङटा सबैभन्दा योग्य उम्मेदवार भएको दाबी गरे। सहभागी नेताहरूले उनको उम्मेदवारीले कांग्रेस संगठन मात्र होइन, समग्र क्षेत्रको विकासलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायतका वरिष्ठ नेता र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
बैठकमा अनिल रुङटाको नेतृत्वमा घर–घर कांग्रेसका एजेन्डा पुर्याउने, संगठन सुदृढ बनाउने र पर्सा–१ लाई राजनीतिक स्थिरता तथा विकासको नमुना क्षेत्र बनाउने लक्ष्य अघि सारिएको छ।
संगठनात्मक एकता र कार्यकर्ताको उत्साहले पर्सा–१ मा कांग्रेसको चुनावी माहोल अझ सशक्त भएको सहभागीहरूले बताए।

