

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना सम्पन्न भएको छ।
बुधबार बिहान गोरखा क्षेत्र नम्बर–१ र इलाम क्षेत्र नम्बर–१ को मतगणना सकिएसँगै देशभरको समानुपातिक मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए। उनका अनुसार सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयबाट आयोगमा अन्तिम विवरण आउने क्रम भने जारी छ।
मतगणना सकिएसँगै समानुपातिकतर्फ दलहरूले पाउने सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु भएको आयोगले जनाएको छ। यो प्रक्रिया केही दिनभित्र टुंगिने बताइएको छ।
आयोगका अनुसार बुधबार बिहान ११ बजेसम्म एक करोड सात लाख ३९ हजार ११५ मत गणना भएको छ। गणना भएको मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ३९ हजार २३५ मतसहित अग्रस्थानमा रहेको छ।
नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३, नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४ र नेकपा (माओवादी केन्द्र) ले आठ लाख पाँच हजार ७७३ मत प्राप्त गरेका छन्।
त्यस्तै श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत पाएका छन्। अन्य दलहरू भने थ्रेसहोल्ड कटाउने अवस्थामा नरहेको निर्वाचन आयोगले जनाएको छ।

