Aadarsh-Daily

पूर्व मुख्यमन्त्री राउतकै गाउँमा ‘छाता’लाई १३ मत, पर्सामा जसपा कमजोर

ad-4p
content left

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको पैतृक गाउँमै पार्टीको चुनाव चिह्न ‘छाता’ले अत्यन्त न्यून मत प्राप्त गरेको तथ्य सार्वजनिक भएको छ।

राउतको आफ्नै पालिका पर्साको जगरनाथपुर गाउँपालिका–४ जगरनाथपुरस्थित मतदान केन्द्रमा छाताको पक्षमा जम्मा १३ मत मात्र खसेको छ। नतिजापछि पर्सा जिल्लामा राउतको जनाधार कमजोर भएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।

त्यस्तै राउत बसोबास गर्दै आएको वीरगञ्ज महानगरपालिका–१३ मा पनि छाताले जम्मा ३९ मत मात्र प्राप्त गरेको छ। कमजोर मतपरिणामका कारण पर्साका विभिन्न क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ।

पर्सा जिल्ला पहिले मधेसी मोर्चा तथा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको बलियो आधार क्षेत्र मानिन्थ्यो। तर पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वप्रति बढ्दो असन्तुष्टिका कारण प्रभावशाली नेताहरू अन्य दलमा प्रवेश गरेपछि जिल्लामा पार्टी कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

२०८२ फागुन २१ गते सम्पन्न निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको अवस्थामा पर्साका चारै निर्वाचन क्षेत्रमा जसपा नेपालका उम्मेदवारहरूको जमानत जफत भएको बताइएको छ।

यस नतिजापछि पार्टीभित्रका केही युवा नेताहरूले जिल्लामा देखिएको कमजोर अवस्थाको मुख्य जिम्मेवारी राउत र पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि पर्ने आरोप लगाएका छन्। उनीहरूका अनुसार जनाधार भएका नेताहरूलाई पार्टीभित्र टिक्न नदिने वातावरण बनाइएको र केन्द्रीय नेतृत्वलाई समेत वास्तविक अवस्थाबारे गलत जानकारी दिइएको छ।

निर्वाचनमा अधिकांश क्षेत्रमा उम्मेदवारहरूको जमानत जफत भएपछि पार्टीभित्र नेतृत्वको नैतिक जिम्मेवारी वहन गर्दै राजीनामाको माग समेत उठ्न थालेको स्रोतको दाबी छ।

यसपटकको निर्वाचनमा देखिएको नयाँ राजनीतिक समीकरण तथा विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको बढ्दो प्रभावका कारण पर्सामा छाताको प्रभाव घटेको टिप्पणी गरिँदै आएको छ। यद्यपि केही नेताहरूले भने जिल्लामा पार्टीको पुनर्गठन आवश्यक रहेको बताएका छन्।

यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा राउतकी पत्नी जलेखा खातुन जगरनाथपुर गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनेकी थिइन्। तर उनी तीन हजार १२३ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भएकी थिइन्।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily