
वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१ गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयको जीर्ण भवन एक परोपकारी संस्थाले पुनर्निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ।
चार कोठे पुरानो भवनलाई लक्ष्मी केयर संस्थाले पुनर्निर्माण गर्नुका साथै रंगरोगन गरी आकर्षक बनाएको हो। संस्थाले बुधबार आयोजित कार्यक्रममा पुनर्निर्मित भवन विद्यालय व्यवस्थापन पक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरेको जनाएको छ।

विद्यालय परिसरमै आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष अनुप श्रेष्ठ, बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी र विद्यालयका प्रधानाध्यापक अकलेश जैसवालले संयुक्त रूपमा भवन उद्घाटन गरेका थिए।
कार्यक्रममा वडा अध्यक्ष अक्षयला महतो, संस्थाका पदाधिकारी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।
पुनर्निर्माणपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुरक्षित र सहज वातावरणमा पठन–पाठन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

