Aadarsh-Daily

ओली–लेखक पक्राउपछि देश तरंगित : कानुनी प्रक्रिया कि राजनीतिक प्रतिशोध ?

ad-4p

काठमाडौं । पूर्वप्रधानमन्त्री KP Sharma Oli र पूर्वगृहमन्त्री Ramesh Lekhak पक्राउ परेपछि नेपाली राजनीति पुनः तरंगित बनेको छ । सरकारको निर्णय, जाँचबुझ आयोगको प्रतिवेदन र त्यसको कार्यान्वयनको शैलीलाई लिएर कानुनविद्, नागरिक समाज, पूर्वन्यायाधीश तथा सुरक्षा विज्ञहरूबीच तीव्र बहस सुरु भएको छ ।

content ad p2

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन, हिंसा र विध्वंशको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेसँगै शनिबार बिहानै दुवै नेता पक्राउ परेका हुन् । सरकारले यसलाई विधिसम्मत अनुसन्धान प्रक्रिया भनेको छ ।

तर, उक्त कदमको औचित्यबारे फरक–फरक धारणा सार्वजनिक भइरहेका छन् । २०६२/०६३ को जनआन्दोलनसम्बन्धी जाँचबुझ आयोगका सदस्य रामप्रसाद श्रेष्ठले प्रतिवेदनलाई ‘जाहेरी जस्तो आधार’ मान्दै थप प्रमाण नजुटाई पक्राउ गर्नु हतारो भएको टिप्पणी गरेका छन् । उनका अनुसार उच्च पदमा पुगिसकेका व्यक्तिलाई पक्राउ नगरी पनि अनुसन्धान अघि बढाउन सकिन्थ्यो ।

यता प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता यज्ञमणि न्यौपाने भने गम्भीर अपराधको आशंका, प्रमाण नष्ट हुने वा अनुसन्धान प्रभावित हुने सम्भावना देखिएमा जरुरी पक्राउ पुर्जी जारी गर्नु स्वाभाविक भएको बताउँछन् । उनका अनुसार कानुन व्यक्तिअनुसार होइन, परिस्थितिअनुसार लागू हुने भएकाले यसलाई राजनीतिक चश्माबाट हेर्न नहुने तर्क गर्छन् ।

content left

यसबीच, नेकपा एमाले निकट कानुनविद्हरूले भने तीन प्रमुख प्रश्न उठाएका छन्—अदालतको अनुमति बिना पक्राउ, प्रतिवेदन सार्वजनिक नगरी कारबाही, र प्रत्यक्ष प्रमाणको अभाव । उनीहरूका अनुसार यस्ता अवस्थामा कानुनी प्रक्रिया मिचिएको हुन सक्ने आशंका गरिएको छ ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझी भने सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा अनुसन्धान अघि बढाएको हुन सक्ने बताउँछन् । उनका अनुसार पक्राउपछि अदालतबाट म्याद थप, बयान र प्रमाण संकलनको प्रक्रिया अघि बढ्छ र प्रमाण पुगेपछि मात्र मुद्दा दायर हुन्छ ।

पूर्वएआईजी टेकप्रसाद राईले भने सत्ता परिवर्तनलगत्तै भएको यस्तो पक्राउलाई राजनीतिक दृष्टिले पनि हेर्नुपर्ने बताउँदै तत्काल पक्राउ आवश्यक नभएको धारणा राखेका छन् । उनका अनुसार अनुसन्धानको आधार तयार गरी प्रक्रिया पूरा गरेर मात्र यस्तो कदम चालिनुपर्थ्यो, नत्र यसले समाजमा पुनः द्वन्द्व निम्त्याउन सक्छ ।

मानव अधिकारकर्मी चरण प्रसाईंले पनि अभियुक्तको निष्पक्ष सुनुवाइको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले पर्याप्त प्रमाण बिना गरिएको पक्राउले न्यायिक प्रक्रिया कमजोर पार्न सक्ने चेतावनी दिएका छन् ।

यस घटनाले देशमा ‘रूल अफ ल’ को परीक्षणसँगै राजनीतिक स्थिरता र सामाजिक सद्भावमा समेत प्रभाव पार्ने विश्लेषण भइरहेको छ । एकथरीले यसलाई कानुनी शासनको अभ्यास मानेका छन् भने अर्को पक्षले राजनीतिक प्रतिशोधको संकेतका रूपमा व्याख्या गरिरहेका छन् ।

यतिबेला आम नागरिकको अपेक्षा भने स्पष्ट छ—राजनीतिक विवादभन्दा माथि उठेर शान्ति, स्थिरता र समृद्धितर्फ देश अघि बढोस्

सम्बन्धित खबर

एनपीएलको तेस्रो संस्करण आजदेखि, उपाधिका लागि आठ टोली मैदानमा उत्रिँदै

Aadarsh Daily

एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

Aadarsh Daily

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily