
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पाकिस्तानी क्रिकेट खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेलाडीलाई आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामा अनिश्चितता देखिएको हो।
क्रिकेटसम्बन्धी सञ्चारमाध्यम ईएसपीएन क्रिकइन्फोका अनुसार यसअघि एनओसी पाइसकेका पाकिस्तानी खेलाडीलाई समेत तत्काल प्रतियोगितामा सहभागी हुन रोक लगाइएको छ।
एनपीएलसँग सम्बन्धित केही व्यक्तिले पीसीबीले प्रत्येक खेलाडीको एनओसीका लागि करिब २५ हजार अमेरिकी डलर मागेको हुन सक्ने बताएका छन्। तर उक्त रकम मागिएको विषयमा आधिकारिक पुष्टि भएको छैन।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि एनओसी रोकिएको विषयमा जानकारी आएको बताएका छन्। उनले एनओसी जारी गर्ने अधिकार सम्बन्धित देशको क्रिकेट बोर्डसँग रहने र एनओसीबिना विदेशी खेलाडीले एनपीएल खेल्न नपाउने स्पष्ट पारेका छन्।
यसपटक एनपीएलमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुनेन शाह, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली र उसामा मिर सहभागी हुने तयारीमा छन्।
केही पाकिस्तानी खेलाडी काठमाडौं आइसकेका छन् भने अन्य खेलाडीले समस्या समाधान नभएसम्म नेपाल आउने कार्यक्रम स्थगित गरेको बताइएको छ।
यस विषयमा पाकिस्तान क्रिकेट बोर्डले आधिकारिक प्रतिक्रिया दिएको छैन। एनओसीसम्बन्धी विवाद समाधान नभए एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता प्रभावित हुन सक्ने देखिएको छ।

