
पर्यटनको दृष्टिकोणले मधेश प्रदेशको एक मात्र निकुञ्जको रुपमा रहेको पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।तत्कालिन अवस्थामा नेपालमा पाइने रैथाने हात्तीको वासस्थान संरक्षण गर्ने उद्देश्यले २०४० सालमा बारा, पर्सा र मकवानपुरसँग सीमा जोडिएको चार सय ९९ वर्ग किलोमिटर जंगल क्षेत्रलाई समेटेर आरक्षणको रुपमा स्थापना गरिएको हो ।
२०७२ सालमा बारा तर्फको १२८ वर्ग किलोमिटर राष्ट्रिय वन क्षेत्रलाई पनि आरक्षणमा समाहित गरेर ६२७ दशमलव ३९ वर्गकिलोमिटरमा यसको क्षेत्रफल बिस्तार गरिएको थियो । प्रचुर पर्यटकीय सम्भावना र पूर्वाधारको विकासलाई आधार बनाएर सरकारले यसलाई २०७४ सालमा नेपालको १२ औँ निकुञ्जको रुपमा घोषणा गरेको हो ।
२०७४ सालमा नेपालकै सबैभन्दा कान्छो निकुञ्ज बनेसँगै पर्सा राष्ट्रिय निकुञ्ज स्वदेशी तथा बिदेशी पर्यटकका लागि खुल्ला गरिएको हो । प्राकृतिक सुन्दरतासँगै बन्यजन्तुको अवलोकन गर्न सकिने जैविक बिबिधताको धनी मानिने पर्सा राष्ट्रिय निकुञ्ज पछिल्लो समय आन्तरिक पर्यटकसँगै सिमावर्ति भारतिय पर्यटकको रोजाईमा पर्दै गएको छ ।
निकुञ्जभित्र ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिर जस्ता धार्मिक स्थलहरु छन् भने कामिनी दह, हलखोरिया दह र लौकी दह जस्ता प्राकृतिक तथा मनोरम दहहरु पनि छन् । यसका साथै दुर्लभ वन्यजन्तु र चराचुरुंगीको बाक्लो उपस्थिति यो निकुञ्जमा छ । यहाँ दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिंगे गैँडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायतका जनावरहरु छन् भने झण्डै तीन सय प्रजातिका चराचुरुंगीहरु यो निकुञ्जभित्र अवलोकन गर्न पाईन्छ ।
पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुञ्जको जंगलभित्र एक दर्जन भ्यु टावर बनाइएको छ । यसैगरी पर्यटकलाई जंगल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन् । निकुञ्जभित्र फायरलाइन पनि भएकाले हात्तीको जंगल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जंगल सफारी गर्न सक्ने व्यवस्था समेत मिलाइएको निकुञ्जका प्रमुख सँरक्षण अधिकृत मनोज कुमार साह बताउँछन् । उनी भन्छन्, “निकुञ्जलाई मधेश प्रदेशको एउटा बलियो र आकर्षक पर्यटकिय गन्तब्य बनाउन निकुञ्ज हर प्रयास गरिरहेको छ । त्यसका लागि यँहा आउने पर्यटक निकुञ्जमा भ्रमण गर्ने सहज बातावरण निर्माण गर्न र मनोरन्जनसँगै अन्य सेवा प्रदान गर्न निकुञ्जले पूर्वाधारको निर्माणलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।”
निकुञ्जलाई मधेश प्रदेशकै पर्यटकिय गन्तब्य बनाउन निकुञ्ज कार्यालयले पर्यटकका लागि आवश्यक भौतिक पूर्वाधारको निर्माणसँगै निकुञ्जको प्रचारप्रसारलाई समेत प्राथमिकतामा राखेको प्रमुख संरक्षण अधिकृत साहले बताए ।

पर्यटन वर्षको मौका छोपेर नेपालका साईकल यात्रीहरुलाई हरेक वर्ष निकुञ्जभित्र साईकल यात्राको आयोजना गर्दै आएको निकुञ्जले यँहा आउने पाहुना पर्यटकलाई मिठो आथित्य सत्कार समेत गर्ने गरेको छ । निकुञ्जको भ्रमण गर्न आउने पाहुनाको स्वागतका लागि निकुञ्जको मध्यवर्ति क्षेत्रको बफर जोनमा सुनाखरी मध्यवर्ति सामुदायिक होम स्टे सञ्चालनमा छ । जसले यँहा आउने पाहुनालाई मिठो आतिथ्यतासँगै स्वादिलो भोजन र गित सँगीतले मनोरन्जन प्रदान गर्ने गरेको छ । स्थानिय लोक सँस्कृतिमा पर्यटकको स्वागतमा तयार सुनाखरी सामुदायिक होम स्टेले प्रदान गर्ने आतिथ्यताले पाहुनाको मनै लोभ्याउँछ । होम स्टेमा पर्यटक आउँदा स्थानियहरु पनि दँग पर्छन् ।
निकुञ्जमा पर्यटकिय चहलपहल बढेपछि होम स्टेको माध्यमबाट बस्तिमा रोजगारी आएको स्थानिय रामबहादुर पाख्रिन बताउँछन् । उनी भन्छन, “बस्तिमा पर्यटक आउन थालेपछि हाम्रो आम्दानीमा बृद्धि भएको छ । घरमै भएको चामल पिठो बजारमा बेच्दा थोरै पैसा आउँछ, त्यसैबाट खरिद गरेको खाद्यान्न सामाग्रीबाट खाना पकाएर पाहुनालाई खुवाउँदा त्योभन्दा तिन गुणा बढी पैसा आउँछ ।”
पर्यटन क्षेत्र रोजगारी र विकासको मेरुदण्डको रुपमा स्थापित हुँदै गएको छ । पर्यटनको विकास फस्टाएको ठाउँमा रोजगारी र विकासले फड्को मारेको हुँदा बर्तमान अवस्थामा विकास चाहनेहरुको प्राथमितामा पर्यटन पर्न थालेको छ । सँघिय लोकतन्त्रिक पद्धतिको अभ्यास गरिरहेको नेपालमा तिनै तहको सरकारले आफ्नो ठाउँलाई समृद्ध र विकसित बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको पाईन्छ । यसका लागि पर्यटनका सम्भाव्यताहरुको अध्ययनसँगै पर्यटकिय गन्तब्यहरुको पहिचान गरी त्यसमा लगानीको बातावरण निर्माण गर्ने क्रम पनि विस्तारै शुरु भएको छ । यसै क्रममा तराईका आठ जिल्लालाई समेटेर निर्माण गरिएको मधेश प्रदेशले पनि पर्यटनको विकासको माध्यमबाट रोजगारी र विकास सृजना गर्ने क्रममा पहिचान गरिएको एउटा नयाँ तर पुरानो गन्तब्य हो पर्सा राष्ट्रिय निकुञ्ज । निकुञ्जभित्र आउने विदेशी पर्यटकका लागि प्रवेश शुल्क प्रतिव्यक्ति भ्याटसहित एक हजार रुपैया र हात्ती चढेको ६ सय ५० रुपैयाँ तोकिएको छ भने नेपाली पर्यटकका लागि प्रतिव्यक्ति प्रवेश शुल्क ५० रुपैयाँ र हात्ती चढेमा ६ सय ५० रुपैयाँ तोकिएको छ ।
निकुञ्जको सिमाना बारा, पर्सा र मकवानपुर जिल्लासम्म फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वपट्टिको विस्तारित क्षेत्रको रुपमा रहेको यो निकुञ्ज ५०० देखि ९५० मिटरसम्म अग्लो चुरे पर्वतले यसको धेरेजसो भूमि ढाकेको छ । ६ सय २७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्जको पूर्वमा रतनपुरको जंगल, पश्चिममा चितवन राष्ट्रिय निकुञ्जको सिकारीवास, उत्तरमा बफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर रहेको छ ।
यहाँका रमणीय तालतलैया, जंगल र दुर्लभ जीवजन्तुको आकर्षणले निकुञ्ज पर्यटकीय गन्तव्यको रूपमा विकासित हुँदै गएको निकुञ्जका प्रमुख सँरक्षण अधिकृत साहको भनाई छ । उनी भन्छन, “गैँडा हेर्नका लागि यस भेगका पर्यटक चितवन राष्ट्रिय निकुञ्ज जान्छन् । तर उँहाहरुलाई थाहा छैन कि पर्सा राष्ट्रिय निकुञ्जभित्र ८ वटासम्म गैडा छन् । निकुञ्जको प्रतापपुरमा गैँडासँगै तिन चार सयको सँख्यामा चित्तल र अन्य बन्यजन्तु सहजै हेर्न सकिन्छ । यो सन्देश पर्यटकमा पु¥याउन सक्ने हो भने गैँडा हेर्ने पर्यटकका लागि यो राम्रो गन्तब्य बन्न सक्छ ।”
बन र वातावरणसँगै बन्यजन्तुको अवलोकन गर्दै रमाउन केही वर्षअघिसम्म यस भेगका आन्तरिक तथा भारतिय पर्यटकहरुका लागि चितवन राष्ट्रिय निकुञ्ज बाहेक अन्य गन्तब्य थिएन । तर पर्सा राष्ट्रिय निकुञ्जमा हात्तिको सफारीसँगै जिप चढेर जँगल सफारी गर्ने वातावरण बनेपछि अहिले यो मधेश प्रदेशकै आकर्षक गन्तव्यको रुपमा विकसित हुँदै गएको हो । निकुञ्जमा पर्यटक आउन थालेपछि यस क्षेत्रमा होटल तथा रिसोर्ट व्यवसायिहरुले लगानी गर्न थालेका छन् ।
राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएका रिसोर्टले पर्यटकलाई झनै आकर्षित गरेको छ । पर्यटकलाई मिठो र स्वादिलो खानासँगै बासको व्यवस्थापन गर्न यसका वरिपरि करोडौँ रुपैयाँ लगानीमा रिसोर्टहरु खुलेका छन् । केही नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा छन् । यसले स्थानिय स्तरमा युवा रोजगारीको समेत सृजना गर्दै गएको छ ।

