
वीरगञ्ज : जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिन सुनिश्चित गर्न उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
सोमबार प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा मन्त्री पदमै रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ। यस्तो अवस्था स्वार्थको द्वन्द्वको स्पष्ट उदाहरण हुने भन्दै निष्पक्ष न्यायका लागि पदबाट हटाइनु आवश्यक रहेको जिकिर गरिएको छ।
वक्तव्यमा ‘आफ्नैविरुद्ध छानबिन भइरहँदा पनि मन्त्री पदमा बहाल रहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत हो’ उल्लेख गर्दै छानबिन प्रक्रियालाई प्रभावमुक्त बनाउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।

त्यस्तै, बालेन शाह नेतृत्वको सरकारलाई मन्त्री नियुक्ति र बर्खास्तीलाई ‘कच्चा र अमर्यादित खेल’ नबनाउन सचेत गराउँदै क्याबिनेट गठनलाई गम्भीर राजनीतिक तथा नैतिक विषयका रूपमा लिनुपर्ने बताइएको छ। जिम्मेवार नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता प्रदर्शन गर्नुपर्ने माग पनि गरिएको छ।
‘यो कुनै साधारण सरकार होइन, यो ७६ जना शहीदहरूको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व हो,’ वक्तव्यमा भनिएको छ, ‘जनताको त्यागमाथि सस्तो राजनीति स्वीकार्य हुँदैन।’
यसैबीच, विवादास्पद व्यापारी दीपक भट्टसँग गुरुङको साझेदारी सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका भट्ट समूहसँग जोडिएको भनिएको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गुरुङको लगानी रहेको खुलेको हो।
सार्वजनिक विवरणअनुसार उक्त कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर गृहमन्त्री गुरुङको नाममा रहेको बताइएको छ।

