Aadarsh-Daily

रोपेको धान सुक्न थालेपछि किसान अब चिन्नतित

ad-4p

आकाशे पानीको भरमा पर्सामा रोपिएको धान सुक्न थालेको छ । पानी नपरेर दिनभर टन्टलापुर घाम लाग्दा सिँचाइ गरेर खेती हुने क्षेत्रका किसानले लगाएको धान बाली सुक्न थालेको हो । पानी नभएपछि धान रोपाइँ भएको खेतमा धाँजा फाटेको किसानले बताएका छन् ।

content ad p2

पर्सामा असार मध्ययता पानी परेको छैन । त्यसअघि परेको पानीमा धान रोप्न भनेर हिल्याइएका खेत अहिले सुकेका छन् । रोपिएको धान पानी अभावले पहेलिन थालेको पर्साको कालिकामाई गाउँपालिकाका किसान रामदेव दासले बताए । असार सकिँदा पनि धान रोपाइँले गति लिन नसकेको र रोपेको धान सुक्न थालेपछि यसपालि अन्नको संकट पर्ने चिन्ताले किसान पिरोलिएकाे उनले बताए । ‘मुख्यबाली धान नै रोप्न नसकिएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ताले पिरोलेको छ,’ उनले भने ।
मध्य असारअघिको आकाशे पानीको भरमा एक झमट रोपाइँमा लागेका किसान त्यसयता खेतमा पानी सुकेपछि चिन्तामा परेको किसान श्याम साहले बताए । पानीको समस्या हुँदा असार सकिनै लाग्दा पनि जिल्लामा एकतिहाइ धान रोपाइँ सकिएको छैन ।

content left

पानी नपरेपछि महिलाहरूले इन्द्र भगवानको पूजा गर्दै
आकाशे पानी नपरेपछि जिल्लाका महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजाआजा सुरु गरेका छन् । महिलाहरूले पानी परोस् भनेर आइतबार इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधनाको लागि पोखरिया नगरपालिका र कालिकामाई गाउँपालिकालगायतका स्थानमा पूजाको लागि सहयोग माग गरेका छन् ।

पोखरिया नगरपालिका वडा नम्बर ६ का महिलाहरूको समूहले कालिकामाई र पोखरियामा घर–घर पुगेर पूजाका लागि चामल र रकम संकलन गरेका छन् । संकलित रकम र चामलबाट इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा आराधना गरिने स्थानीय संगीता देवीले बताइन् । उनले पानी नपर्दा महिलाहरूले इन्द्र भगवान् र ब्रह्मबाबाको पूजा गर्दा पानी पर्ने परम्परागत मान्यताअनुरूप पूजा गर्न लागेको बताइन् । महिलाहरूको समूहले टोल–टोल घुमेर सहयोग संकलन गर्ने क्रममा पुरुषहरूलाई पानी र हिलो छ्यापेका थिए । पुरुषहरूलाई पानी र हिलो छ्याप्दा पानी पर्ने परम्परागत मान्यता छ ।

पर्सामा ४० प्रतिशत मात्र रोपाइँ सम्पन्न
जिल्लामा अहिलेसम्म ४० प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । रोपाइँ गर्ने भनेर हिल्याइएको खेत चर्को घामले सुकेर धाँजा फाटेको कृषि ज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत सुरेश चौरसियाले बताए । उनका अनुसार मलखाद आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङको रहेको छ । किसानले सहज रूपमा मलखाद नपाउँदा यस वर्ष पनि धान उत्पादनमा ह्रास आउने चिन्ताले किसान पिरोलिन थालेको उनको भनाइ छ ।
अधिकृत चौरसियाका अनुसार पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।.कृषि ज्ञान केन्द्र पर्साका अनुसार मुलुकको कुल गार्हस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका छ । सबैभन्दा बढी धान उत्पादन मधेस प्रदेशमा हुँदै आएको छ । नेपालमा हुने कुल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन यस प्रदेशमा हुँदै आएको ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ ।

मधेस प्रदेशमा चैते र बर्खे दुवै मिलाएर वार्षिक १४ लाख १६ हजार पाँच सय ८५ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यस प्रदेशमा चार लाख तीन हजार ६ सय ४९ हेक्टर खेतीयोग्य जग्गा रहेको कृषि ज्ञान केन्द्र पर्साको बाली विकास शाखाले जनाएको छ । शाखाका अनुसार पर्सामा एक लाख ६१ हजार ६ सय ९६ मेट्रिक टन धान उत्पादन हुने गर्छ ।

सम्बन्धित खबर

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily