
वीरगञ्ज, १२ साउन । राष्ट्रियभूमि आयोग पर्साले जिल्लाका ८ वटा स्थानीय तहसँग सम्झौता गरेको छ ।

पर्सामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आयोग र पोखरीया नगरपालिका, विन्दवासिनी, सखुवाप्रसौनी, पटेर्वासुगौली, जगरनाथपुर, पकाहामैनपुर, जिराभवानी र छिपहरमाइ गाँउपालिका बिच सम्झौता भएको हो ।
वीरगञ्जस्थित राष्ट्रिय भुमि आयोग पर्साको कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बिच सम्झौता भएको आयोग पर्साका अध्यक्ष तबरेज अहमदले जानकारी दिए ।
राष्ट्रिय भुमि आयोगका तर्फबाट केन्द्रिय विज्ञ सदस्य राघव यादव तथा पोखरीया नगरपालिकाकी उपमेयर रुबी ठाकुर, विन्दवासिनी गाँउपालिकाका अध्यक्ष प्रमोद तिवारी, सखुवाप्रसौनी गाँउपालिकाका अध्यक्ष यशवन्त यादव, पटेर्वासुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरी, जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त यादव, पकाहामैनपुर गाँउपालिकाका अध्यक्ष सुरेश मेहताले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
अध्यक्ष अहमदका अनुसार अन्य ६ स्थानीय तहसँग भने यसअघि नै सम्झौता भइसकेको छ ।
अब राष्ट्रिय भुमि आयोग पर्साले ३५ दिने सूचना आह्वान गर्ने र त्यसपछि लक्षित समुदायबाट आवेदन संकलन गरेर भूमीहीन र सुकुम्बासीहरुको व्यवस्थापनका लागि आवश्यक प्रकृया अगाडि बढाइने आयोगका जिल्ला अध्यक्ष अहमदले बताए

