
वीरगञ्ज – राष्ट्रिय परिचयपत्र र ई पासपोर्टको अनलाईन फारम अबदेखि स्थानीय तहबाटै भरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना प्रकाशित गर्दै यहाँका १४ वटै स्थानीय तहबाट फारम भर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
जिल्ला पशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र ई पासपोर्ट बनाउनेको चाप नघटेपछि स्थानीय तहबाटै फारम भर्न सकिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
सेवाग्राहीको काम छिटो, छरितो र व्यवस्थित गराउन अबदेखि जिल्लाका सबै स्थानीय तहबाट नै राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको फारम भर्ने व्यवस्था मिलाइएको उनले बताए ।

फारम भर्नका लागि स्थानीय तहमा व्यक्ति समेत तोकेर कार्यालयले सूचना सार्वजनिक गरेको छ ।
जसअनुसार वीरगञ्ज महानगरपालिकामा २ जनालाई फारम भर्ने कामको जिम्मा लगाइएको छ भने अन्य स्थानीय तहमा एक जनाकै जिम्मा छाडिएको छ ।
महानगरको जनसख्या धेरै रहेकाले फारम भर्ने जिम्मेवारी २ जनालाई दिइएको पनि सहायक प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् ।
अबदेखि हरेक पालिकाका नागरिकले आफ्नै पालिकामा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको फारम भरेर बायोमेट्रिकका लागि मात्रै जिल्ला प्रशासन कार्यालय आए हुने भएको छ । फारम भर्नैका लागि जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने बाध्यता हटेको छ ।
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र र ईपासपोर्टको फारम भर्न भिड हुँदा बजारमा रहेका फोटोकपी र साईबर सेन्टरहरुले सेवाग्राहीसँच चर्को शुल्क लिएर फारम भरिदिने गरेका थिए । प्रहरीले केही दिनअघि सेवाग्राहीसँग ठगि गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटै अगाडी रहेका फोटोकपी र साइबर सेन्टरका सञ्चालक पक्राउ गरेको थियो ।

