
वीरगञ्ज, १२ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा नेकपा माओवादी केन्द्रबाट एक्लै जित निकालेका प्रदेशसभा सदस्य रहबर अन्सारीलाई पार्टी अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) ले बधाई दिएका छन् ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका अन्सारीलाई पूर्वप्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले काठमाडौँस्थित आफ्नो निवासमा बोलाएर बधाई दिएका हुन् ।

प्रचण्डले सोमबार काठमाडौँस्थित निजिनिवासमा अन्सारीसँग भेटघाट गरेर शुभकामना दिँदै खादा र माला लगाएर सम्मानित पनि गरेका छन् ।
अन्सारीले राजनैतिक परिदृश्यमा युवाहरु प्रतिको बढ्दो आकर्षण र विश्वासलाई आत्मसात गर्दै अध्यक्ष प्रचण्डले आफूलाई पर्सा-१ (क) बाट उम्मेदवार बनाएको बताएको र त्यही विश्वासलाई माथि राख्दै क्षेत्रका मतदाताले आफूलाई निर्वाचित गराएको बताए । उनले प्रचण्डसँगको तस्विर सामाजिक सञ्जालको फेसबुकमा एउटा पोष्ट राख्दै लेखेका छन्, “पछिल्लो केही समयदेखि देखिएको राजनैतिक परिदृश्यमा युवाहरु प्रतिको बढ्दो आकर्षण र आम सर्वसाधारणको युवाहरू प्रति बढ्दो विश्वासलाई आत्मसात गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डले मलाई पर्साको १(क) बाट जुन विश्वासका साथ चुनावी मैदानमा प्रस्तुत गर्नुभयो, त्यस विश्वास र सद्भावलाई मेरा क्षेत्रका आदरणीय मतदाताहरुले मलाई विजयी बनाएर मलाई र मैले अध्यक्षज्युसँग गरेको मेरो विजय यात्राको सुनिश्चितता दुवै साकार गराएको फलस्वरूप आज श्रद्धेय अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेतृत्वसङ्ग आज शुभकामना आदानप्रदान गरियो ।”
उनले आफूले प्राप्त गरेको कार्यभारलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । “प्राप्त कार्यभारलाई सफलतापूर्वक सम्पन्न गर्ने संकल्प व्यक्त गर्दै भविष्यको कार्ययोजना बारे छलफल गरियो । श्रद्धेय अध्यक्ष कमरेड तथा मेरा आम आदरणीय मतदाताहरु प्रति हार्दिक आभार,” सोही पोष्टमा अन्सारीले थपेका छन् ।
अन्सारी तेस्रो प्रयासमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनले २०७४ को स्थानीय चुनावमा वीरगञ्ज महानगरपालिकाको मेयर र सोही वर्ष भएको प्रदेशसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।

