
फूलपाती भित्र्याएसँगै वीरगंजस्थित गहवामाई मन्दिरमा खोइँछ भर्न आउने महिलाहरूको चहलपहल बढेको छ। आफ्ना भाकल पूरा भएको खुसी र परिवारमा सुख, शान्ति तथा समृद्धिको कामनासहित महिलाहरूले गहवामाईलाई खोइँछ चढाइरहेका छन्।

खोइँछमा भिजाइएको चना, घिउमा तारिएको पुरी, मिठाई तथा फलफूललगायतका सामग्री राख्ने गरिन्छ। पूजाका क्रममा महिलाहरूले मातालाई चुनरीसमेत चढाउने गरेका छन्।
गहवामाईप्रतिको धार्मिक आस्था र परम्परालाई निरन्तरता दिँदै महिलाहरूले मनोकामना पूरा होस् र घरपरिवारमा अमनचयन कायम रहोस् भन्ने कामनासहित पूजा गरिरहेका छन्। फूलपातीका दिन मन्दिरमा देखिएको चहलपहलले दसैँको धार्मिक र सांस्कृतिक रौनक बढाएको छ।

