Aadarsh-Daily

 मधेसमा संसदीय दलको नेता बन्न प्रदेश सांसदहरूले कसरतमा 

ad-4p

धनुषा — मधेसमा संसदीय दलको नेता बन्न प्रदेश सांसदले दौडधुप बढाएका छन् । प्रदेश सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएपछि नेतृत्वमा पुग्ने महत्त्वाकांक्षाका साथ सांसदहरूले पहिला दलको नेता बन्न कसरत थालेका हुन् । दलको नेता सांसदहरूले छान्ने भए पनि त्यो अधिकार खोसेर विगतमा पार्टीका शीर्ष नेतृत्वले सीधै तोक्ने गर्दै आएका थिए ।

content ad p2

त्यसैले पनि शीर्ष नेतालाई रिझाउन सांसदहरूको काठमाडौं आउजाउ बाक्लिएको छ । समानुपातिक सांसद छनोट बाँकी छँदै दलका नेता बन्न निर्वाचित सांसदहरू लबिइङ छन् ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ६४ सिटमध्ये सबैभन्दा बढी १५ सिट जितेको नेकपा एमालेमा संसदीय दलको नेता बन्न ३ जना प्रतिस्पर्धामा छ । धनुषा–३ (२) बाट निर्वाचित दीपेन्द्र ठाकुर, धनुषा–१ (२) बाट निर्वाचित रामचन्द्र मण्डलले एमाले संसदीय दलको नेतामा दाबी गरेका छन् । माओवादी केन्द्रबाट एमालेमा आएका मण्डल यसअघि प्रदेशसभामा माओवादीको संसदीय दलका नेता थिए । एमालेबाट विद्रोह गरी रौतहटबाट प्रतिनिधिसभामा निर्वाचित प्रभु साहसँग मण्डल नजिक रहेकाले उनलाई पार्टी नेतृत्वले दलको नेता बनाउने सम्भावना कम छ । महोत्तरीबाट निर्वाचित एमालेका अर्का प्रदेश सांसद सरोज यादव पनि संसदीय दलको नेता बन्ने प्रतिस्पर्धामा छन् ।

नेपाली कांग्रेसबाट प्रदेश संसदीय दलको नेतामा रौतहट–१ (२) बाट निर्वाचित कांग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव, धनुषा–३ (१) बाट निर्वाचित रामसरोज यादव र सर्लाही–४ (१) बाट निर्वाचित वीरेन्द्र सिंहले दाबी गरेका छन् । कांग्रेसका प्रदेश सभापति यादव प्रदेशसभामा पहिलो पटक निर्वाचित भएका हुन् । सर्लाहीका सिंह यसअघि प्रदेशसभा सदस्यमा निर्वाचित भएर महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री भइसकेका छन् । धनुषाका रामसरोज यादव यसअघि संसदीय दलको नेता हुँदै प्रदेश सरकारमा भौतिक पूर्वाधारमन्त्री भएका थिए ।

कांग्रेस संसदीय दलको नेताका लागि तीनै जना पार्टीका शीर्ष नेतासँग छलफलमा छन् । प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेसका १३ जना सांसद निर्वाचित भएका छन् । कांग्रेसको समानुपातिक मत एमालेभन्दा बढी छ । दोस्रो ठूलो दल कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने सम्भावना रहेकाले कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षीहरू दलको नेता बन्न दौडधुप गरिरहेका छन् ।

content left

प्रदेशसभामा प्रत्यक्षतर्फ ९ जना सांसद भएर तेस्रो दलको हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलमा हालका मुख्यमन्त्री लालबाबु राउत नै दोहोरिने सम्भावना धेरै छ । मधेस प्रदेश सरकारमा ५ वर्षसम्म मुख्यमन्त्री रहेका राउत दलको नेता बन्नेमा कुनै शंका नभएको जसपाका एक सांसदले बताए ।

‘दलका नेतामा दाबी गर्नेहरू निर्वाचनमा पराजित भए,’ ती सांसदले भने, ‘विजय यादव र शैलेन्द्र साह पराजित भएपछि राउत नै दलका नेता बन्नेछन् ।’ जसपाबाट निर्वाचिन निवर्तमान सभामुख सरोजकुमार यादव र धनुषाबाट निर्वाचित रामाशिष यादवले पनि संसदीय दलको नेता बन्ने इच्छा देखाएका छन् ।

संसदीय निर्वाचनमा पहिलो पटक सहभागी हुँदै मधेस प्रदेशमा सरकार बनाउने निर्णायक सिट जितेको जनमत पार्टीमा पनि संसदीय दलको नेता बन्ने कसरत सुरु भएको छ । सप्तरीबाट ४ र सिरहाबाट २ गरी जनमतका ६ जना सांसद निर्वाचित छन् । समानुपातिकमा जनमत जसपाभन्दा अगाडि छ । जनमतले समानुपातिकमा ३ लाख २४ हजारभन्दा बढी मत पाइसकेको छ । पार्टीमा संसदीय दलको नेता चयनबारे छलफल नभए पनि सप्तरी–२ (१) बाट निर्वाचित सतिश सिंह र सिरहा–४ (१) बाट निर्वाचित त्रिभुवन साहको नाम चर्चामा रहेको जनमतका एक नेताले बताए ।

प्रदेशसभामा प्रत्यक्षतर्फ ७ जना सांसद निर्वाचित भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को संसदीय दलको नेतामा जितेन्द्र सोनलको चर्चा छ । सोनल यसअघि पनि उक्त पार्टीको संसदीय दलका नेता थिए । राजपा हुँदा दलको नेता हुँदै भौतिक पूर्वाधारमन्त्री भएका सोनल जसपाबाट विभाजन भएर लोसपा बन्दा पनि दलको नेतामा निर्वाचित भएका थिए ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि समानुपातिकबाट १/१ जना सांसद पाउने सम्भावना छ । त्यसो भएमा प्रदेशसभामा एमाले, कांग्रेस, जसपा, जनमत, लोसपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी ८ राजनीतिक दल र ६ जना स्वतन्त्र सांसद सहभागी हुनेछन् ।

मधेस प्रदेशमा प्रत्यक्षबाट ६४ र समानुपातिकतर्फ ४३ गरी १०७ जना सदस्य हुनेछन् । प्रत्यक्षबाट ६० पुरुष र ४ महिला निर्वाचित भएका छन् । प्रदेशसभामा यस पटक प्रत्यक्षतर्फ ४१ नयाँ अनुहार थपिएका छन् । अघिल्लो निर्वाचनमा चुनिएका २३ जना सांसद यस पटक दोहोरिएका हुन् । प्रदेश सरकार बनाउन ५४ जना सांसद चाहिन्छ ।

साभार :Kantipur Daily

 

सम्बन्धित खबर

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily

दशैं–तिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात

Aadarsh Daily