
वीरगंज भन्सार कार्यालयबाट लिलाम हुने सामान तथा सवारीसाधन सस्तोमा उपलब्ध गराइदिने भन्दै ठगी गरेको आरोपमा प्रवीण साह पक्राउ परेका छन्।

सर्लाही घर भई काठमाडौंमा बस्दै आएका साहले आफूलाई सशस्त्र प्रहरीको असई बताउँदै भन्सारमा पहुँच रहेको दाबी गरेर रकम लिने गरेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार साहलाई गत २२ गते वीरगंजको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको हो। प्रारम्भिक अनुसन्धानमा उनले ५० हजार रुपैयाँ नगद र तीन लाख रुपैयाँ बराबरको चेक लिएको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले सरकारी कार्यालयमा पहुँच रहेको भन्दै रकम माग्ने बिचौलियाबारे जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

