
काठमाडौँ । आपूर्तिको अवस्था असहज हुँदा व्यवसायीले बढी मूल्य लिने विषय नौलो होइन । तर सहज अवस्थामा पनि केही व्यवसायीले खाना पकाउने एलपी ग्यासमा बढी मूल्य असुलिरहेका छन् । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालका अनुसार चितवन, नवलपुर, नवलपरासीलगायत केही जिल्लामा सरकारले तोकेको भन्दा नेपाल आयल निगमले प्रतिसिलिन्डर ग्यासको मूल्य १८ सय ९५ रुपैयाँ तोकेको छ । यसभन्दा बढीमा बिक्रीवितरण गैरकानुनी हो । तर केही डिस्ट्रिब्युटर अनि विक्रेताले चर्को मूल्यमा बिक्री गरेको उजुरी परेको पाइएको छ । ‘ग्यास उद्योगदेखि ५० किमि परिधिभित्र कायम ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्डर (१४.२ केजीको) १८ सय ९५ रुपैयाँ हो । नवलपरासी, चितवन, नवलपुरलगायत क्षेत्रमा बढी मूल्य लिएको भन्दै स्थानीय प्रशासनमा लिखित उजुरी नै परेको छ,’ संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने, ‘सबैभन्दा बढी ग्यास उद्योग भएको क्षेत्र त्यही नै हो, त्यहाँ थप भाडा जोड्न पाइँदैन । तर बढी मूल्यमा बिक्री गरिरहेको उजुरी परेको छ ।’

संघका अनुसार केही साताअघि पोखरा, कास्की क्षेत्रमा पनि बढी मूल्य लिएको उजुरी परेको थियो । पछिल्लो समय भने चितवन, नवलपुर, नवलपरासी क्षेत्रमा पनि समस्या देखिएको छ । ‘बढी मूल्य लिएर ठगी गरे नेपाल आयल निगम र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गरेर नियमन गर्ने हो, यी निकायले केही गरेनन् । स्थानीय प्रशासनले पनि ग्यासको अनुगमन गर्नुपर्थ्यो तर गरेनन्,’ घिमिरेले भने, ‘गलत काम गर्नेलाई कारबाही भएन ।’ग्यासमा बढी मूल्य लिएको उजुरीपछि संघले उद्योगले तोकेको खुद्रा बिक्री मूल्य तिरेर आधिकारिक विक्रेताबाट मात्रै ग्यास किन्न भनेको गरेको छ । ग्यास खरिदपछि अनिवार्य बिल लिन उपभोक्तालाई उसको आग्रह छ । ग्यास विक्रेता महासंघ नेपालले बजारमा मागअनुसार आपूर्ति व्यवस्था पर्याप्त मिलाइएको जनाएको छ । ग्यास उद्योगबाट उपभोक्ताको मागबमोजिम विक्रेतालाई उपलब्ध गराइएको अवस्थामा बढी मूल्य लिनु गैरकानुनी हुने भन्दै विज्ञप्ति नै जारी गरेर सूचित गरेको छ । ०७८ चैत १५ को निगमको निर्णयअनुसार ग्यास उद्योगदेखि ५० किमि परिधिभित्र कायम ग्यासको उपभोक्ता मूल्य प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ हो ।
५० किमिबाहिर खुला बजारअनुसार प्रतिस्पर्धात्मक तवरबाट ढुवानी अंश समेटी मूल्य कायम गर्ने भनिएको छ,’ महासंघका अध्यक्ष अध्यक्ष चन्द्रबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुनासो, उजुरी आएको ५० किमि परिधिभित्रकै हो । चितवन नवलपुर, नवलपरासीलगायत जिल्लामा केही डिस्ट्रिब्युटरले विक्रेतालाई बढी मूल्य लिइराखेका छन् । उद्योगले विक्रेतालाई दिने मूल्यभन्दा बढी लिने डिस्ट्रिब्युटरलाई तत्काल कारबाही गर्नुपर्छ ।’डिस्ट्रिब्युटर र विक्रेताले दिने मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय ४५ रुपैयाँ हुनुपर्छ । विक्रेताको नाफा प्रतिसिलिन्डर ५० रुपैयाँ हो । तर डिस्ट्रिब्युटरले बढी मूल्य लिएको थापाको भनाइ छ । ‘कम्पनीले डिस्ट्रिब्युटरलाई प्रतिसिलिन्डर १ हजार ८ सय ४५ रुपैयाँ दिन्छ । डिस्ट्रिब्युटरले विक्रेतालाई १ हजार ८ सय ७० रुपैयाँ र विक्रेताले थप ५० रुपैयाँ थपेर बेच्दा उपभोक्तालाई १ हजार ९ सय २० रुपैयाँसम्म पर्ने भयो,’ अध्यक्ष थापाले भने, ‘यो गलत हो, विक्रेताको माग कम्पनी र डिस्ट्रिब्युटरको मूल्य १ हजार ८ सय ४५ रुपैयाँ हुनुपर्यो ।
’ग्यासको मूल्यका हकमा ५० किमि परिधि तोकिएको निगमका प्रवक्ता मनोज ठाकुरले प्रस्ट्याए । उद्योगभन्दा ५० किमि दूरीभित्र बढी मूल्य लिन नपाइने उनको भनाइ छ । ‘त्यसभन्दा बढीको दूरीमा ढुवानी भाडा जोड्न मिल्छ । बढी मूल्य लिनु गैरकानुनी हो,’ उनले भने, ‘बढी मूल्य लिएको विषयमा निगममा पनि उजुरी आएको छ । अब अनुगमन तीव्र हुन्छ ।’ यद्यपि निगमले मात्रै अनुगमन गरेर समाधान नहुने उनले बताए । सम्बद्ध स्थानीय निकाय, जिल्ला प्रशासन र वाणिज्य विभागले पनि अनुगमन जारी राख्नुपर्ने उनले जनाए । ‘निगमले ग्यासको प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) जारी गर्ने हो । ग्यास उद्योगीले मागेअनुसार मासिक ५० हजारदेखि ५५ हजार टन पीडीओ जारी भइराखेको छ । बजारमा अभाव छैन, आपूर्तिमा समस्या छैन,’ उनले भने, ‘बढी मूल्य लिनेलाई सबै निकायबाट अनुगमन र कारबाही गर्न जरुरी छ ।’

