
वीरगञ्ज । सीमावर्ती सहर रक्सौलमा १ सय ८६ करोडको लगानीमा अत्याधुनिक रेल्वे स्टेसन निर्माण हुने भएको छ । रक्सौल रेल्वे स्टेसनलाई १८६ करोड रुपैयाँ खर्च गरेर विश्व स्तरीय सुविधा सम्पन्न बनाई स्तरोन्नति गरिने बेतियाका सांसद डा. सञ्जय जयसवालले जानकारी दिए ।
भारतको अयोध्यामा शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको अमृत भारत योजनाअन्तर्गत रक्सौल स्टेसन पनि स्तरोन्नति हुने भएको हो । स्तरोन्नतिका लागि भारतीय जनता पार्टी (भाजपा) का पूर्व प्रदेश अध्यक्षसमेत रहेका जयसवालले मोदीप्रति आभार प्रकट गरे । उनले भने, ‘हामी सबै प्रधानमन्त्री मोदीको शुक्र गुजार छौँ, उहाँले सपनाको भारतको परिकल्पनामा अमृत भारत योजनाअन्तर्गत रक्सौलको स्टेसनलाई पनि विश्व स्तरीय रेलवे स्टेसनका रूपमा सामेल गर्नुभएको छ । यो आउने दिनहरूमा स्वर्णिम भारतको निर्माणका प्रतीक बन्ने छ ।’

रक्सौलमा रेल्वे स्टेसन स्तरोन्नति भएपछि त्यहाँबाट नेपालको काठमाडौँ जानका लागि पनि डङ्कन हस्पिटल नजिकै स्टेसन निर्माण गर्ने योजना छ । दरभंगाबाट सीतामढीबाट रक्सौल हुँदै नयाँ दिल्लीसम्म अमृत भारतको रेल सुरुवात भएको छ । यससँगै रक्सौलदेखि दिल्लीका लागि अर्को रेल थपिएको हो ।
रेल दरभंगाबाट छुटेर दिउँसो ३ बजे रक्सौल पुग्नेछ भने बिहान ७ बजे दिल्ली पुग्नेछ । रेलमा सीतामढी र रक्सौलका लागि धेरै सङ्ख्यामा सिट छुट्ट्याइने पनि सांसद जयसवालले जानकारी दिए ।
सोही अवसरमा सांसद प्रमोद कुमार सिन्हा, महिला संगठनकी सीमा गुप्ता, कन्हैया सर्राफ, रवि गुप्ता, किशोरी पटेल, शत्रुधन सिंह लगायतको उपस्थिति रहेको थियो । अयोध्या आनन्द बिहारसम्म हप्तामा दुई दिन अमृत भारत एक्सप्रेस रेल सञ्चालन हुनेछ । नयाँ वर्ष सन् २०२४ देखि आनन्द बिहारदेखि लखनउ, अयोध्या हुँदै सीतामढी, दरभंगासम्म रेल चल्नेछ ।

