
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले समयमा कार्यालय नपुग्ने कर्मचारीहरूलाई कारबाही गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले निर्धारित समय भित्र कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही गरिने बताएका हुन् ।
कर्मचारी समयमा कार्यालय नपुग्दा सेवा लिन पुगेका स्थानीय तथा सेवाग्राहीहरूलाई समस्या आएको भनेर गुनासो बढेपछि अध्यक्ष यादवले कर्मचारीहरूलाई सचेत गराउँदै समयमै कार्यालय पुग्न निर्देशन दिएका छन् ।

समयमा नपुग्ने कर्मचारीलाई कार्यालय भित्र छिर्न नदिने यादवले चेतावनी पनि दिएका छन् । ‘सखुवाप्रसौनी गाउँपालिकामा कार्यरत रहनुभएका सम्पूर्ण कर्मचारीहरूलाई १० बजे कार्यालय पुग्न निर्देशन,’ यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलो आए छिर्न नदिने चेतावनी ।’
यादवको कदमलाई स्थानीयले सराहना गरिरहेका छन् । कर्मचारीले आफू अनुकूल कार्यालय पुग्दा टाढा-टाढाबाट आएका सेवाग्राहीहरूलाई समस्या हुने गरेको छ ।
जिल्लाका अन्य स्थानीय तहहरूले पनि कर्मचारीहरूमाथि सखुवाप्रसौनी जस्तै कडाइ गर्नुपर्ने सामाजी सञ्जाल प्रयोगकर्ताले धारणा पनि राखेका छन् ।

