
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फेरी पनि मन्त्रालय टुक्र्याएर सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् ।
चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जनता समाजवादी पार्टी नेपाल (जसपा) की सुरिता साहलाई मन्त्रालय दिन मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय टुक्र्याएका हुन् ।
मुख्यमन्त्री यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालय बनाएका छन् । जसमध्ये उनले आफ्नो पार्टीकी सांसद सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा दिएका छन् भने यसअघि शिक्षा तथा समाज कल्याण मन्त्री रहेका जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिएर उनको अधिकार कटौती गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार विज्ञप्ति जारी गर्दै कार्य विभाजन सार्वजनिक गरेका थिए ।
यद्यपि मुख्यमन्त्री यादवले मनपरी ढङ्गले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट बनेको छ । बुधवारको समेत क्याबिनेट बैठकमा मन्त्रालय फोड्ने र कार्य विभाजनको प्रस्ताव नै नल्याई मुख्यमन्त्री यादवले चोर बाटोबाट त्यसो गरेको जनमतका मन्त्री महेश प्रसाद यादवले दाबी गरे ।
‘क्याबिनेट बैठकमा म पनि थिएँ । मन्त्रालय फोड्ने र कार्य विभाजनको प्रस्ताव आएकै थिएन’, उनले भने, ‘मुख्यमन्त्री नै क्याबिनेट हुनुहुन्छ । कसरी गर्नुभयो उहाँलाई नै थाहा होला । गठबन्धन र क्याबिनेटमा कुनै छलफल भएको छैन ।’
जनमत पार्टीले छलफल गरेपछि मात्र मन्त्रालयको पदभार ग्रहण गर्ने की नगर्ने निर्णय लिने उनले बताए ।

