Aadarsh-Daily

नेपाली कांग्रेस र कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदैछ-उपेन्द्र यादव

ad-4p

रौतहट  ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टहरुका कारण देश दिनप्रतिदिन दुर्घटनातर्फ धकेलिँदै गएको बताएका छन् ।  देशमा बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएपनि उनीहरु देश बनाउन नसकेको यादवले बताएका हुन् ।

content ad p2

जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको गोनाही बजारमा आयोजना गरेको वृहत्त पार्टी प्रवेश तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा अध्यक्ष यादवले देशमा बहुदलिय व्यवस्था लागु भएपछि आम नागरिक अधिकार सम्पन्न हुने र देश विकासको गतिमा अगाडि बढ्ने विश्वास गरिएपनि बहुदलिय व्यवस्था लागु भएको ३४ वर्षदेखी देशको नेतृत्व गर्दैआएका कांग्रेस र कम्युनिष्टहरुले देशमा विकास गर्न नसकेको बताए ।

उनले भने, ‘बहुदलिय व्यवस्था लागु हुनुभन्दा अघि देशमा मल कारखाना, कृषि औजार कारखाना, जनकपुरमा चुरोट काराखाना, विराटनगरमा जुट मिल, हेटौडामा कपडा कारखाना जस्ता सयौं उद्योग तथा कलकारखाना सञ्चालनमा रहेको थियो, जसमा लाखौं यूवाले रोजगारी पाएको थियो ।’

तर आज भन्दा ३४ वर्षअघि बहुदलिय व्यवस्था लागु भएपछि कांग्रेस, एमाले र माओवादीले सरकारको नेतृत्व गर्न थालेपछि देशका सबै उद्योग कलकारखाना बन्द भएको उनले बताए । लाखौं व्यक्तिले रोजगारी पाएको देशका ठूलाठूला उद्योग कलकारखानाहरु बन्द भएपछि लाखौं यूवाहरु अहिले रोजगारी नपाएर बेरोजगार भएको उनले बताए ।

देशमा अहिले रोजगारको अवसर सृजना नहुँदा रोजगार खोज्दै दैनिक हजारौं यूवाहरु अहिले मलेशिया, कतार, दुबई, सउदी लगाएतका खाडी मुलुकमा श्रम गर्न जान बाध्य भइरहेको उनले बताए ।  ३४ वर्ष यताका सरकारहरु देशका उद्योग कारखाना बन्द गराइ एउटा पनि उद्योग कलकारखाना खोल्न नसक्दा देश अहिले चरम गरिवि, अशिक्षा र बेरोजगारीको चपेटामा परेको उनले बताए ।

३४ वर्षदेखि लामो शासन गर्दै आएका कांग्रेस तथा कम्युनिष्टहरुले देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग कलकारखानालाई पुरै ध्वस्त बनाएकोले देश अहिले ठूलो आर्थिक भूमरीमा फसेको भन्दै उनले दुःख व्यक्त गरे ।

content left

३४ वर्षमा देश विकास र देशको समस्या समाधान गर्न नसकेका कांग्रेस तथा कम्युनिष्टहरुले देश बनाउन असफल भइसकेको बताउँदै उनले असफल भइसकेका यी दलहरुबाट देश कहिल्यै बन्न नसक्ने ठोकुवा गरे ।

कांग्रेस तथा कम्युनिष्टहरुले कुनै हालतमा देशमा विकास गर्न र जनताको समस्या समाधान गर्न नसक्ने दावी गर्दै यादवले अब एकमात्र पार्टी जनता समाजवादी पार्टीले मात्र देशको निकास दिने तथा जनताको हरेकखाले समस्या समाधान गर्ने बताए ।

जनतालाई अधिकार सम्पन्न बनाउन र देशलाई विकासको गतिमा अगाडि बढाउन जसपा तयार रहेकोले सबैलाई जसपामा अहिलेदेखि नै लाग्न उनले आग्रह गरे ।  अर्को प्रसंगमा बोल्दै अध्यक्ष यादवले मधेशी जनतामाथी गोली चलाएर निर्माण गरिएको संविधान संशोधन नभएसम्म आफुहरुले स्वीकार नगर्ने बताए ।

वर्तमान संविधान मधेश र मधेशी जनताको पक्षमा नरहेकोले संविधान संशोधन गरी मधेशी जनताको बाँकी रहेको अधिकार दिलाउन आफुहरु संघर्षरत रहेको उनले बताए । विगतमा आफुले गरेको मधेश जनविद्रोहको बलमा देशमा संघीयता आएको तर अहिले देशी विदेशी शक्तिले संघीयतालाई समाप्त पार्ने सडयन्त्रमा लागेको उनले आरोप लगाए ।

शासक वर्गले मधेशी, जनजाति, आदिवासी, थारु, अल्पसंख्यक, मुस्लिम लगायत समुदायलाई अधिकार दिन नचाहेको र पटक पटक भेदभावसमेत गर्दै आएकोले आउँदो २०८४ मा हुने तीनै तहको निर्वाचनमा मधेशलाई अधिकार दिन नचाहनेलाई आफ्ना अमूल्य मत नदिन उनले सबैलाई आग्रह गरे ।

शासक वर्गले अधिकार, विकास र समृद्धिको नाममा पटक–पटक मधेशीलाई ठग्ने काम मात्र गरेकोले मधेशी जनताले उनीहरुलाई अब राम्ररी सवक सिकाउने बेला आएको उनले टिप्पणी गरे । मधेशीको भोटबाट जितेर सत्तामा पुगेपछि शासक वर्गले मधेशीको माग र मुद्दा विर्सिने गरेका कारण ती शासक वर्गलाई अब सबैले सबक सिकाउनुपर्ने उनले धारणा राखे ।

मधेशले कहिले राजालाई त कहिले कांग्रेस, कम्युनिष्ट, राप्रपासमेतलाई विश्वास गरी जिताए तर तीनैलै नै मधेशीको हक अधिकार कुण्ठित गरेको उनले आरोप लगाए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्र परित्याग गरी देवाही गोनाही नगरपालिकाका मेयरका प्रत्यासी समेत रहेका धर्मेन्द्र पटेलको नेतृत्वमा सयौं व्यक्ति जसपामा प्रवेश गरेका हुन् ।  त्यस्तै प्रभु साह नेतृत्वको आम जनता पार्टी परित्याग गरी सत्येन्द्र पटेल, जयनन्द पटेल सहित दर्जनौ व्यक्ति जसपामा प्रवेस गरेका छन् ।

पार्टी प्रवेश गर्ने सबैलाई जसपा अध्यक्ष उपेन्द्र यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेता एवं पूर्व मन्त्री गोविन्द चौधरी, राजनीतिक समिति सदस्य बालकिशोर यादव, पार्टीका नेता एवं मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, मधेश प्रदेशका उर्जा, सिचाई, जलश्रोत तथा खानेपानी राज्य मन्त्री शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबु, मधेश प्रदेशका पूर्व राज्य मन्त्री योगेन्द्र यादव, पार्टीका केन्द्रिय सदस्यहरु रामकिशोर यादव, चुल्हाई राय, किरण ठाकुर,  लगाएत पार्टीका दर्जनौ नेताहरुले आ–आफना मन्तव्य राखेका थिए भने कार्यक्रममा हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily