
वीरगञ्ज । नेकपा एमाले बाराको ११औँ जिल्ला अधिवेशन चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ । १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ ।
एमाले बाराको अधिवेशनको उद्घाटन सत्र होटेल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्द सत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ । अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए ।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत सङ्गठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन् ।
एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकाङ्क्षा देखाएका छन् । अध्यक्ष पदका आकाङ्क्षीहरूले अधिवेशनका प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन् । यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भए पनि यस पटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ ।
अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तिन कार्यकाल जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको वर्तमान उपाध्यक्ष टिना सुबेदी आकाङ्क्षा देखाएका छन् ।
अध्यक्षका आकाङ्क्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवम् क्षेत्रीय कमिटीका संयोजक समेत हुन् ।
जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तिन पटक सचिव भइसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलवीर चौधरी निकट भएको बताइएको छ ।
जिल्ला अध्यक्षका अर्का आकाङ्क्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनौट भएका थिए ।
एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् । सुबेदी प्रतिनिधि सभाका सभासद् तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमती हुन् ।
यसअघि सर्वसम्मतबाटै जिल्ला नेतृत्व चयन गरिने बताए तापनि यस पटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ । नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तिको लडाई हुने देखिन्छ । नेकपा एमालेका तिन पोलिटब्युरो सदस्य रहेको बारामा आफूनिकटका व्यक्तिहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन् ।
यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिव द्वयमा अमृत बजगाईँ र भुलन चौधरीसहित सर्वसम्मत रूपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो ।

