
वीरगञ्ज । नेपालको पहिलो विश्वविद्यालय नेपाल राष्ट्रिय विद्यापीठको स्थापना दिवस समारोह सम्पन्न भएको छ ।
मधेस विश्वविद्यालय वीरगञ्जको आयोजनामा आइतबार विश्वविद्यालय स्थापना भएको दिनलाई स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको मधेस विश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यले जानकारी दिए ।

प्रो. डा. शाक्यले कार्यपत्र प्रस्तुत गर्दै मधेस प्रदेश अरू प्रदेश भन्दा पछाडि पर्नुको मुख्य कारण शिक्षा भएको बताए । ‘यो कार्यक्रम शिक्षासँग जोडिएको छ । आज मधेसमा विश्वविद्यालय आएको छ । यो सातौँ दशक अगाडि हाम्रा अग्रजहरूले बिउ रोपेका थिए, त्यसको वृक्ष हो । मधेस भौगोलिक र आर्थिक रूपमा किन पछाडि पर्यो, बौद्धिक वर्गले विश्लेषण गर्ने हो भने यसको मुख्य कारण हो शिक्षा,’ उनले भने ।
‘हामीले रोजगार पाएनौ, बेरोजगार छौ भन्छौ तर काम गर्नेलाई सक्षम गर्न सकेका छैनौ, राम्रो सीप दिन सकेका छैनौ, त्यहीँ पुराना पढाई आर्ट्स, कमर्स र साइन्स पढेरै सक्षम भइँदैन,’ उनले थपे । अहिलेको आवश्यकता मेडिकल, इन्जिनियरिङ, आइटी, होटेल म्यानेजमेन्ट, कला संस्कृतिको जमाना भएको सुनाउँदै उनले सोही अनुरूप त्रिभुवन विश्वविद्यालयले नीति र कार्यक्रम ल्याउनु पर्नेमा शाक्यले जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा निर्वाचन क्षत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले देशको अर्थतन्त्रको ४० प्रतिशत राजस्व वीरगञ्जबाट जाने गरेको जानकारी गराउँदै भने, ‘राष्ट्रिय गौरवको विकासको काममा वीरगञ्जलाई गरिएको छ । मधेस विश्वविद्यालयको जग पूर्व मुख्यमन्त्री माननीय लालबाबु राउतले हाल्नु भयो बाँकी रहेका कामहरू वर्तमान मुख्यमन्त्री सरोज यादवले गर्नुहुन्छ भन्ने मरो विश्वास छ,’ उनले भने ।
मधेस विश्वविद्यालयका उपकुलपति प्रो. डा. दिपक शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव रहेका थिए । त्यस्तै कार्यक्रममा मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री प्रमोद जयसवाल, पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी, पूर्व मन्त्री नागेन्द्र चौधरी, नेशनल मेडिकल कलेजका अध्यक्ष डा. जैनुदिन अन्सारी, प्रदेशसभा सदस्य श्याम पटेल, वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य डा. हरेराम ठाकुरले प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन मधेस विश्वविद्यालय रजिस्ट्रार विजय यादवले गरेका थिए ।

