
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट पक्राउ परेका अभियुक्तहरू भारतबाट संकाष्पद रूपमा पैदल हिँड्दै नेपाल आएका थिए ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पर्सा र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले नियमित चेकजाँच गर्ने क्रममा तीन जना पक्राउ परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनकाअनुसार कास्कीको पोखरा महानगरपालिका २ निवासी २० वर्षीय अनुप थापा क्षेत्री, सोही ठाउँका २० वर्षीय सरोज राना मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ निवासी २० वर्षीय कुशल मगर पक्राउ परेका हुन् ।

तीन जनालाई रोकि खानतलासी गर्दा, अनुप थापा क्षेत्रीले बोकेको रातो झोलाभित्र लुकाईछिपाई राखिएको प्रतिबन्धित लागुऔषध डाईजेपाम, फेनारगन, र नुरफिन ४०÷४० एम्पुल बरामद भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए ।
पक्राउ परेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

