Aadarsh-Daily

पर्यटनमार्फत मधेश प्रदेशको कायापलट गर्ने :मुख्यमन्त्री सिंहको दाबी

ad-4p

वीरगञ्ज । पर्यटनबाट प्रदेशको कायापलट गर्ने रणनीति लिएको मधेश प्रदेशका मुख्यमन्त्री शतिष कुमार सिंहले बताए । मधेश प्रदेशको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय र पर्यटन विकास कार्यालय वीरगञ्ज पर्साद्वारा वीरगञ्जको क्लासिक बैक्वेटमा आयोजित सरोकारवालासँग अन्तरक्रिया एवम् संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले पर्यटनबाटै प्रदेशको आर्थिक विकास गर्ने दाबी गरे ।

content ad p2

‘घुमौ मधेश, बुझौ मधेश’ को मुख्य नारासहित आयोजित कार्यक्रमका अवसर मुख्यमन्त्री सिंहले धार्मिक, ऐतिहासिक, पुरातात्विक एवम् प्राकृतिकसँगै सांस्कृतिक रुपले पनि मधेश प्रदेशमा पर्यटनको अथाह सम्भावना भएको बताए । उनले भने, ‘हामीसँग धार्मिक स्थलसँगै अथाह पर्यटकिय सम्भावनाका गन्तव्य छन्, पर्सा बारादेखि सिराहा सप्तरीसम्मका गन्तव्यहरुलाई प्रबद्र्धन गरेर धेरैभन्दा धेरै पर्यटक ल्याउने माहोल बनाउने कार्यमा प्रदेश सरकार गम्भिर छ । पर्साको पर्सा राष्ट्रिय निकुञ्जदेखि सप्तरीको कोशीटप्पु वन्य जन्तु आरक्षलाई व्यवस्थित गर्नका लागि तीन तहकै सरकारबीच समन्वय गर्न हामी तयार छौँ ।’

प्रदेश सरकारसँग पर्याप्त स्रोत साधनको अभाव भएका कारण अपेक्षित काम गर्न नसकिएको स्विकार गर्दै मुख्यमन्त्री सिंहले थपे, ‘विभिन्न किसिमका पर्यटकिय गन्तव्य भएर पनि हामी पछाडी परीरहेका छौँ, पर्यटकिय गन्तव्य मात्रै पर्यटन ल्याउने आधार हैन र राज्यले पनि सबै कुरा आफै गर्न सक्दैन ।’ उनले सार्वजनिक साझेदारी र निजी लगानी पनि गर्नुपर्ने आवश्यक्ता औँल्याए । उचित खाना र सुरक्षित रुपमा बस्नका लागि होटल, रेस्टुरेन्ट लगायतका पुर्वाधारमा मिलेर निजी क्षेत्रले पनि अगाडी आएमा प्रदेश सरकारले सहज वातावरणको सृजना गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मधेश प्रदेशमा भारतसँग खुला सीमा जोडिएका जिल्ला भएकाले भारतीय पर्यटक प्राथमिकतामा रहेको उनको भनाई छ । यद्यपी नेपाल प्रहरीको मुस्कानसहितको सेवा भनाईमा मात्रै सिमित हुँदा त्यसको प्रत्यक्ष प्रभाव पर्यटकमा पनि परेको उनले टिप्पणी गरे । पर्यटकलाई अनावश्यक झन्झट नबनाई सहज रुपमा आवतजावत गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । पर्यटनबाट पनि देशको राजस्व बढाउन सकिने प्रशस्तै आधार भएर पनि सोचेअनुरुप पर्यटन व्यवसाय फस्टाउन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘राज्यबाट पूर्वाधार निर्माण र नीतिगत सुधारको काम हामी गर्छाै, तपाईहरु पब्लिक पार्टनरसिपमा आएर लगानी गर्नुहोस् अनि काम गर्नुहोस्, मिलेर प्रदेशमा पर्यटनको प्रबद्र्धन गरौ ।’

content left

मधेश प्रदेशका पर्यटकिय गन्तव्यहरुको विवरणहरु समेटेर डिजिटल पोर्टल तयार पार्ने काम प्रदेश सरकारले गरीरहेको पनि मुख्यमन्त्री सिंहले जानकारी दिए । उनकाअनुसार डिजिटल पोर्टल तयार हुने बित्तिकै संसारको कुनै पनि कुनाबाट मधेश प्रदेशका पर्यटकिय गन्तव्य र तीनका महत्वका बारेमा थाहा पाउन सघाउ पुग्नेछ । यसले पनि पर्यटक भित्रिनमा मद्धत पुग्ने उनको विश्वास छ । होटल तथा पसलहरुले पनि स्थानीय उत्पादनलाई प्रबद्र्धन गर्नुपर्नेमा उनको जोड छ ।

मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले सरकार गठन भएको एक सातामै हतारमा नीति तथा कार्यक्रम र बजेट ल्याइएको स्पष्ट पारे । हतारमा ल्याइएको बजेटमा सबै विषय समावेश गर्न नसकिएको उनले स्विकार गरे । साथै सोचेअनुरुपका योजना नसमेटिएपनि मधेश प्रदेशका सबै जिल्ला प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । २०८२ साललाई पर्यटन वर्षका रुपमा मनाउने पनि उनले अवगत गराए । मधेशलाई बुझ्नका लागि घुम्न जरुरी रहेको हुँदा प्रदेश सरकारले ‘घुमौ मधेश, बुझौ मधेश’ अभियानको थालनी गरेको मन्त्री भट्टराईको भनाई छ ।

मधेश प्रदेशका पूर्व उद्योग वाणिज्य तथा पर्यटन राज्य मन्त्री रहबर अन्सारीले पर्यटनभित्र पुर्वाधार मात्रै नभएर खाना, संगीत, नृत्य लगायतका क्षेत्र पनि पर्ने बताए । पर्यटन मन्त्रालयको धेरै जसो बजेट मन्दिर, मस्जिद, शमशानघाट लगायतका पूर्वाधारमा खर्च हुने प्रवृतिप्रति उनले चिन्ता व्यक्त गरे । उनले भने, ‘यो हाम्रो संस्कृति हो, बरु यसलाई संस्कृति मन्त्रालयअन्र्तगत राख्नुपर्छ । पर्यटन मन्त्रालयको क्षेत्र र दायरा फराकिलो छ, हामीले धेरै कुराहरु गर्नुछ ।’ जहाँ गएपनि थकाली खाना खाने गरेको बताउँदै उनले स्थानअनुसारको खानाका परिकारलाई प्रबद्र्धन गर्न नसकिएको प्रदेश सभा सदस्यसमेत रहेका अन्सारीको धारणा छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल, भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्य दूत देबी सहाय मिना, मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्य, होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लगायतले पर्यटकिय सम्भावना र चुनौतीका बारेमा धारणा राखेका थिए ।

कार्यक्रममा पर्साको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले ठोरी सँधै प्रदेश सरकारको उपेक्षामा पर्ने गरेको गुनासो गरे । ठोरीलाई प्रदेश सरकारले पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेपनि नीति तथा कार्यक्रम र बजेटमा ठोरी नसमेटिनुप्रति अध्यक्ष श्रेष्ठको आपत्ती छ । उनले ठोरी प्रदेश सरकारको गहना हो भनेर भाषण सबै मन्त्री, नेताले बोलेपनि व्यवहारमा ठोरीलाई विभेद गरेको आरोप लगाए ।

मधेश प्रदेशका पर्यटकिय गन्तवयका बारेमा पर्यटन अभियानता एवम् युवा नेता ओमप्रकाश सर्राफले प्रस्तुती दिएका थिए । कार्यक्रमको सहजीकरण पत्रकार माधुरी महतोले गरेकी थिइन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily