Aadarsh-Daily

विराटनगरमा एक युवकको हत्या, दुई जना घाइते

ad-4p

विराटनगर । विराटनगरमा सोमबार राति एक जना युवकको हत्या भएको छ। १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन्। विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङको कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।

content ad p2
content left

उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए। गम्भीर अवस्थाका कामतको भने उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए। उनका अनुसार मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिन्छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको एसपी कार्कीले बताए। घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ। उनी बोल्न सक्ने अवस्थामा छन्। कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ। घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मापसे (मादक पदार्थ सेवन) गरेका घाइते एवं मृतकबीच नै झैझगडा भएर घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ। यद्यपि, अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने एसपी कार्कीले बताए।

उनका अनुसार घटनाको वास्तविकता पत्ता लगाउन प्राविधिक पक्षसमेतको विश्लेषण गर्दै विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको छ। पहिचानको प्रयास गर्दै घटनामा संलग्नको खोजी तीव्र पारिएको जानकारी कार्कीले दिए। घटनास्थलबाट प्रहरीले एउटा मोबाइल फेला परेको छ। उक्त मोबाइल घटनामा संलग्नको हुनसक्ने आशंका प्रहरीको छ। घाइते अवस्थाका मण्डलले भने रातको समयमा बाटोमा हिँडिरहेका बेला एक्कासि आक्रमण भएको प्रहरीलाई बताएका छन्। प्रहरीका अनुसार कसले आक्रमण गरेको हो र आक्रमणकारी कति जनाको संख्यामा थिए भनेर मण्डलले खुलाउन सकेका छैनन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily