Aadarsh-Daily

धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन मन्त्री यादवको निर्देशन 

ad-4p

काठमाडौँ, ८ असोज । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्नुहुँदै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।

content ad p2

आज काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत निर्माणाधीन ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनु भएको हो । 

काठमाडौँ उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्त्वपूर्ण परियोजना भएको उल्लेख गर्नुहुँदै मन्त्री यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । 

“फोहोर पानी प्रशोधन केन्द्रहरूको प्रभावकारी सञ्चालनले काठमाडौँ उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछ,” उहाँले भन्नुभयो, “यी परियोजनाहरूले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन् ।”

content left

परियोजनाहरू समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीहरूमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवाहरूमा दीर्घकालीन सुधार आउने मन्त्री यादवले अपेक्षा लिनु भएको छ ।

सोही क्रममा मन्त्री यादवले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुहुँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरूको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताउनुभयो । सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिनुभयो ।

उहाँले निर्माण कम्पनीहरूलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । मन्त्री यादवले धोबीघाट निरीक्षण अनुगमन पश्चात् आजै बालकुमारी (कोड्कु) स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण अनुगमन गर्नुभएको थियो । उहाँले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई स्रोत साधन परिचालन गरी कामको गति तीव्र पार्न निर्देशन दिनुभएको थियो ।

निरीक्षणकै क्रममा मन्त्री यादवले केन्द्रको हालको अवस्था, पानी प्रशोधन प्रणाली, र बाँकी निर्माण कार्यको प्रगतिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो । धोबीघाट र बालकुमारी (कोड्कु) फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएपछि यसले उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उक्त निरीक्षण अनुगमनमा खानेपानी मन्त्रालयका सचिव ई प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily