
वीरगञ्ज । पोखरिया अस्पतालमा जीवन-मृत्युको संघर्ष गरिरहेकी एक सिकिस्त महिलाको जीवन बचाउन पत्रकार राजेन्द्र सिंह राजपुतले ७१ औं पटक रक्तदान गरेका छन्। महिलाको स्वास्थ्य स्थिती गम्भीर भएपछि उनलाई रक्तदानको लागि सम्पर्क गरियो, र उनले तुरुन्तै वीरगञ्ज रक्तसंचार केन्द्रमा पुगेर रक्तदान गरे।
रक्तदानपछि पत्रकार सिंहले भने, “रगत बिनाको जीवनको कल्पना असम्भव छ। आफ्नो इच्छाले गरिएको रगतदान जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्छ। म नियमित रक्तदाता हुँ र आगामी दिनमा पनि रक्तदान गरिरहने छु।”

रक्तको अभाव र यसको महत्व
वीरगञ्ज रक्तसंचार केन्द्रका प्रमुख सौरभ राज पाण्डेका अनुसार, रक्तसंचार केन्द्रले धेरैजसो अवस्थामा आवश्यक मात्रामा रगत उपलब्ध गराउन कठिनाइ भोगिरहेको छ। उनले रक्तदानको महत्वसम्बन्धी प्राविधिक जानकारी दिँदै भने, “मानव शरीरमा पुरुषको प्रतिकेजी ७६ एमएल र महिलाको ६६ एमएल रगत हुन्छ। शरीर सञ्चालनका लागि आवश्यक रगत ५० एमएल मात्रै हो। रक्तदान गर्दा शरीरमा रहेको अतिरिक्त रगत मात्र दान गरिन्छ। यसले मुटुजन्य र मधुमेहजन्य रोगका समस्या समाधान गर्न पनि सहयोग पुर्याउने अनुसन्धानहरूले प्रमाणित गरेका छन्।”
रक्तदानप्रति जनचेतना अभाव
वीरगञ्ज रक्तसंचार केन्द्रका प्राविधिक राजन श्रीवास्तवका अनुसार, शिक्षित व्यक्तिहरूको संख्या बढे पनि रक्तदानसम्बन्धी ज्ञान र जनचेतनाको कमी अझै देखिन्छ। उनले भने, “कतिपय मानिसले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम राख्छन्, जुन सत्य होइन। १८ देखि ६० वर्ष उमेर समूहका स्वस्थ व्यक्तिहरू, जसको तौल कम्तीमा ४५ केजी छ, उनीहरूले नियमित रक्तदान गर्न सक्छन्। तर गर्भवती महिलाहरू, महिनावारीको समय तथा सुत्केरी भइसकेपछि ६ महिनासम्म रक्तदान गर्नु उपयुक्त हुँदैन।”
पत्रकार राजेन्द्र सिंहजस्ता व्यक्ति समाजका लागि प्रेरणाको स्रोत हुन्। रक्तदानमार्फत अन्य व्यक्तिहरूलाई पनि यस्ता मानवीय कार्यमा सहभागी हुन प्रेरणा दिने प्रयास भइरहेको छ।

