
राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक गतिशीलता बढाउन, भ्रष्टाचार नियन्त्रण गर्न र दण्डहिनता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आज सरकारकाे तर्फबाट सङ्घीय संसद्काे संयुक्त बैठकमा आउँदाे आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले सरकार गठनका समयमा भएको संयुक्त सरकारको न्यूनतम साझ प्रतिबद्धता र प्राथमिकतालाई केन्द्रमा राखी साझा सङ्कल्पका साथ सुशासन प्रबर्द्धन र तीव्र आर्थिक विकास हासिल गर्न कटिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रपति पाैडेलले समाजमा बेलाबेलामा प्रकट हुने नकारात्मक सोचको दोहन गरी, संविधान र व्यवस्थाप्रति अफवाह फैल्याई अराजकता सिर्जना गर्ने पक्षविरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गदै नेपाली नागरिकको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिहरूको रक्षा गर्न सरकार दृढ रहेको उल्लेख गर्नुभयाे ।
राष्ट्रिय आवश्यकता तथा जनचाहनाअनुरूप लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित समाजवादाेन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सरकारले जोड दिएको उहाँकाे भनाइ छ ।

