
वीरगन्ज, जेठ २० – वीरगन्जस्थित नारायणी अस्पतालको आइसियु (ICU) र सिसिसियु (CCU) वार्डमा विद्युत आपूर्ति तीन घण्टासम्म बन्द हुँदा १७ जना बिरामीको ज्यान जोखिममा परेको घटना सार्वजनिक भएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।
गत शुक्रबार राति अस्पतालको आइसियु र सिसिसियु वार्डमा विद्युत सर्किट सर्ट भई करिब तीन घण्टासम्म बिजुली अवरुद्ध हुँदा जीवनरक्षक उपकरणहरू काम नगरेको र बिरामीहरूको अवस्था गम्भीर बनेको थियो।
मंगलबार मेयर सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भेटी ६ बुँदे ज्ञापनपत्र बुझाउँदै गम्भीर लापरवाही देखाएको घटनाबारे तुरुन्त छानबिन गरि दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउन माग गरे।

ज्ञापनपत्रमा अस्पतालका जिम्मेवार अधिकारी र प्राविधिक कर्मचारीलाई निलम्बन गर्न, अस्पताल विकास समिति बर्खास्त गर्न, तथा सरकारी अस्पतालहरूमा आकस्मिक अवस्थाको सामना गर्न तयारी सुनिश्चित गर्नुपर्ने मागहरू उल्लेख छन्।
साथै, प्रभावित बिरामीको उपचार विवरण सार्वजनिक गर्न, सम्बन्धित परिवारसँग अस्पतालले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग पनि गरिएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा संघीय सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव पनि उपस्थित थिए।
मेयर सिंहले नारायणी अस्पतालमा भौतिक पूर्वाधारको अभाव, प्राविधिक व्यवस्थापनको कमजोरी र लापरवाह प्रशासनले गर्दा मधेसका हजारौं नागरिकको स्वास्थ्य संकटमा पर्ने अवस्था आएको भन्दै कडा टिप्पणी गरेका छन्। उनले नारायणी अस्पतालको सुधारका लागि अब निर्णायक कदम चाल्नुपर्ने बेला आएको बताए।
यसअघि शनिबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थितिमा बसेको बैठकले अस्पतालका इलेक्ट्रीसियन इन्चार्ज सन्जिव गुप्तालाई निलम्बन गर्ने निर्णय गरिसकेको छ। तर मेयर सिंहले यो मात्र पर्याप्त नभएको बताउँदै नीतिगत तहबाट व्यापक सुधार र जवाफदेहिताको आवश्यकता औंल्याएका छन्।

