
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वीरगन्जस्थित नारायणी अस्पताललाई अबको एक वर्षभित्र देशकै उत्कृष्ट सरकारी अस्पतालका रूपमा विकास गरिने बताएका छन्।
आइतबार नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सर परीक्षण सेवा र निसन्तान दम्पतीका लागि बाँझोपन उपचार सेवाको औपचारिक शुभारम्भ गर्दै मन्त्री पौडेलले सो प्रतिबद्धता जनाएका हुन्।
उनले मधेस प्रदेशमा संघीय सरकारको एकमात्र अस्पताल नारायणी भएको उल्लेख गर्दै यसको सेवा तथा पूर्वाधार विकासमा मन्त्रालयले विशेष प्राथमिकता दिएको बताए।
“राजनीतिक दल, स्वास्थ्यकर्मी र वीरगन्जवासीको साथ मिल्यो भने अबको एक वर्षपछि नारायणी अस्पताल देशकै नमूना अस्पताल बन्नेछ,” मन्त्री पौडेलले भने।

उनका अनुसार पछिल्लो समय नारायणी अस्पतालमा उल्लेखनीय सुधार भएको छ। निकट भविष्यमै मुटुको शल्यक्रिया सेवा सुरु गर्न ‘क्याथ ल्याब’ को काम अन्तिम चरणमा पुगेको जानकारी समेत उनले दिए।
स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पौडेलले नियमित ड्युटी समयमा अनिवार्य उपस्थित हुनुपर्ने भन्दै कुनै सम्झौता नहुने बताए।
“डाक्टरहरूले बिहान १० देखि साँझ ५ बजेसम्म अनिवार्य रूपमा अस्पतालमै ड्युटी गर्नुपर्छ। अस्पताललाई कर्मचारी भर्ना केन्द्र बनाउने प्रवृत्ति अन्त्य गरिन्छ,” उनले स्पष्ट पारे।
मन्त्री पौडेलले सरकारी अस्पतालका डाक्टर र नर्समाथि जनताको विश्वास रहेको भन्दै त्यो विश्वास गुम्न नदिन सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए।
उक्त कार्यक्रम अस्पताल विकास समिति अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति चन्द्रेशखर यादव, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, उपसभापति अशोक गुप्ता, क्षेत्रीय सभापति महमद साहबुदिन, युवा नेता मनोहर साह, हरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो।

