
वीरगञ्ज महानगरपालिका र नेपाल खानेपानी संस्थानबीच विहिबार एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ। यसले वीरगञ्जवासीलाई लामो समयदेखि व्याप्त खानेपानीको अभाव र गुणस्तरहीनताको समस्याबाट मुक्त गराउने अपेक्षा गरिएको छ।
खानेपानी मन्त्री प्रदीप यादव र मेयर राजेशमान सिंहको सक्रियतामा भएको उक्त सहमति अनुसार, वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण र नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुन बाबु ढकालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार संस्थानले खानेपानी सेवा विस्तार, नयाँ धारा जडान, पाइपलाइन मर्मत, जनचेतना अभिवृद्धि तथा गुनासो समाधानका कार्यहरू अघि बढाउनेछ। महानगरपालिकाले आवश्यक धरौटी रकम, सेवा शुल्कको प्रक्रिया तथा उपभोक्तालाई सेवा दिने समन्वयमा सहयोग गर्नेछ।
यस सम्झौताले आर्थिक रूपमा कमजोर वर्गसहित सबैलाई स्वच्छ र नियमित खानेपानी सुविधा सुनिश्चित गर्ने लक्ष्य लिएको छ। साथै, संस्थानले जनशक्ति वृद्धि गर्दै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।
खानेपानी मन्त्री यादवले दीर्घकालीन समाधानका लागि समझदारी प्रभावकारी हुने विश्वास व्यक्त गर्दै मन्त्रालय समन्वयकर्ता बन्ने बताए।
सम्झौतासँगै वीरगञ्जवासीको खानेपानीको अधिकार सुनिश्चित गर्ने दिशामा ठूलो कदम अघि बढेको विश्वास गरिएको छ।

