
रुसको पूर्वी क्षेत्रमा बुधबार बिहान ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण केन्द्र (यूएसजीएस) का अनुसार भूकम्प पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की शहरबाट झन्डै १३६ किलोमिटर टाढा र १८.२ किलोमिटर गहिराइमा गएको हो ।
भूकम्पपछि तीव्र परकम्पहरू महसुस भइरहेका छन् । रुसी समाचार संस्था ‘तास’ले भूकम्पका कारण थुप्रै मानिस घाइते भएको जानकारी दिएको छ । यद्यपि, अहिलेसम्म कुनैको मृत्युको पुष्टि भएको छैन ।

सुनामीको खतरा थपिएको भन्दै रुस, जापान र अमेरिकाको अलास्का क्षेत्रलाई सतर्क रहन आग्रह गरिएको छ । बीबीसीका अनुसार नागरिकहरूलाई सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिइएको छ । अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रका लागि विशेष सुनामी चेतावनीसमेत जारी गरेका छन् ।
विशेषज्ञहरूका अनुसार सुनामी शक्तिशाली छालको शृङ्खला हो जसले तटीय क्षेत्रमा ठूलो क्षति पुर्याउन सक्छ ।
आजको भूकम्प सन् १९५२ यताकै सबभन्दा शक्तिशाली मानिएको छ । पछिल्लो १० दिनयता सोही क्षेत्रमा पटक–पटक भूकम्प गइरहेकोमा जुलाई २० तारिखका दिन मात्र पाँचवटा भूकम्प मापन गरिएका थिए ।
प्रभावित क्षेत्रमा उद्धार तथा राहतको तयारी थालिएको छ भने नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरिएको छ ।

