
नेपाली कांग्रेसकी सांसद सीता मिजारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा कारागारबाट तत्काल काठमाडौं अड्डासार गर्न सरकारलाई आग्रह गरेकी छिन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै मिजारले लामिछानेलाई भैरहवामा प्रदान गरिएको सेवा–सुविधा र त्यसको राजनीतिक दुरुपयोगबारे गम्भीर प्रश्न उठाउँदै, ‘भावना र आँसुको व्यापार’ भइरहेको आरोप लगाइन्।

उनका अनुसार जिल्ला अदालत रुपन्देहीले १६ जेठमै लामिछानेलाई कारागार स्थानान्तरणको अनुमति दिएको भए पनि गृहमन्त्री रमेश लेखकको दबाबमा कारागार विभागले अड्डासार नगरेको हो।
‘रवि लामिछानेको नाममा केही पार्टीले संवेदनाको व्यापार गरिरहेका छन्। त्यसैले सरकारलाई अनुरोध गर्दछु, आँसु र भावनाको व्यापार गर्ने दोकान बन्द गरिदिनुस्। उहाँलाई कारागार कार्यालय रुपन्देहीबाट काठमाडौं सारिदिनुस्,’ मिजारले सदनमा भनिन्।
उनले सरकारलाई आजकै दिन व्यवस्था मिलाउन आग्रह गर्दै, लामिछानेको मुद्दालाई राजनीतिक लाभको साधन बनाउन नदिन चेतावनीसमेत दिइन्।

