
पर्सा – पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले वीरगञ्ज महानगरपालिकाका मेयरसँगको *‘टसल’*का कारण आफू सरुवा भएको दाबी गरेका छन्।
गृह मन्त्रालयले सरुवा गरेको निर्णयपछि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरूसँग भेटघाट गर्दै सिडिओ अर्यालले मेयर राजेशमान सिंहसँग तालमेलमा समस्या आएपछि काम गर्न गाह्रो भएको बताए।

उनका अनुसार मेयरले सुरुवाती सहमतिलाई पछि बदल्ने तथा दोहोरो भूमिका निर्वाह गर्ने प्रवृत्तिले वीरगञ्जको सामाजिक सद्भावमा समेत असर पर्न थालेको थियो। अर्यालले भने, “महानगरसँग एउटा सहमति हुन्थ्यो, तर पछि आफ्नो स्वार्थअनुसार अर्को निर्णय गर्थे, जसका कारण सद्भाव बिग्रने अवस्थामा पुग्थ्यो।”
यसै कारण काम गर्न असहज बनेपछि समयावधि नपुग्दै आफूले सरुवा गराएको उनको आरोप छ। तर उनले आफ्नो करिब १० महिने कार्यकालमा नागरिक सेवामा कुनै कमी नराखेको दाबी गरे।
सिडिओ अर्यालले सेवामा सहजताका लागि स्थानीय भाषामा सूचना प्रणाली, हेल्प डेस्क स्थापना तथा सीमा क्षेत्रमा हुने झमेलालाई रोक्न एकीकृत सुरक्षा प्रणाली ल्याउने प्रयास गरेको बताए। तर वीरगञ्ज भन्सार कार्यालयका कारण उक्त योजना कार्यान्वयन गर्न नसकिएको उनको भनाइ छ।
अर्याल गत कार्तिकको दोस्रो सातामा पर्सामा सरुवा भएर आएका थिए ।

