Aadarsh-Daily

पहुँचमा भर्ती गरिएका कर्मचारी तत्काल हटाउन प्रमको निर्देशन

ad-4p

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिनुभएको छ ।

content ad p2

प्रधानमन्त्री कार्कीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतमा आइतबार निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिनुभएको हो ।

निगमका निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो अवधि समाप्त हुने बेलामा निगममा करारमा कर्मचारी नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री कार्कीले ती कर्मचारीलाई हटाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “जेनजीले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ, उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?”

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उहाँले निर्देश गर्नुभयो । अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उहाँले निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपियाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गर्नुभएको थियो ।

content left

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भन्नुभयो, “हेर्दा सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ । नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो । त्यो पनि छैन ।”

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिनुभयो ।

“राजनीतिक मान्छेले दबाब दिन्छन् । तपाईंहरू किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईंहरू हो नि,” प्रधानमन्त्री कार्कीको भनाइ थियो, “तपाईंहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन । राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनु पर्दैन । अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस् ।”

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठुलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उहाँले प्रश्न उठाउनुभयो । “यो घाटा त जनताले बेहोरेको घाटा हो नि,” उहाँले भन्नुभयो, “अब यो संस्था सुधार्न कठोर कदम चाल्नु पर्छ । अप्रिय निर्णय गर्न पनि तयार हुनु पर्छ ।”

निजी क्षेत्रका सेवाप्रदायकले ठुलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उहाँले प्रश्न गर्नुभयो । “सरकारले नै यति ठुलो स्रोतसाधन उपलब्ध गराएको छ । सरकारले साथ दिइरहेको छ । तैपनि यो संस्था घाटामा जानुका कारण के हो ?” उहाँको प्रश्न थियो, “बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?”

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ । धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु । यसका लागि सरकारको साथको अपेक्षा गरेको छु ।”

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “संस्था सुधारका लागि तपाईंहरू लाग्नुहोस् । सरकार दाहिने हातमा छ ।” कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्य सचिव एकनारायण अर्याललगायत अधिकारीको उपस्थिति थियो ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily